आत्मघाती हमलामा तालिवान मन्त्री हक्कानीको मृत्यु
एजेन्सी । तालिबान सरकारका शरणार्थी मामिला मन्त्री खलील उर रहमान हक्कानीको काबुलस्थित मन्त्रालयको भवनमा भएको आत्मघाती आक्रमणमा मृत्यु भएको छ ।
हमलामा अन्य व्यक्तिको पनि ज्यान गएको छ । तर, हताहतको संख्याबारे स्पष्ट जानकारी आएको छैन।
तालिबान सरकारको सूचना मन्त्रालयका प्रवक्ताले नै आत्मघाती हमलामा मन्त्री खलील हक्कानीको मृत्यु भएको पुष्टि गरेको हो ।
अहिलेसम्म कुनै पनि समूहले आक्रमणको जिम्मेवारी लिएको छैन । हक्कानी तालिबान सरकारका आन्तरिक मन्त्री सिराजुद्दीन हक्कानीका काका र अफगान तालिवानको हक्कानी नेटवर्कका संस्थापक जलालुद्दीन हक्कानीका भाइ थिए ।
उनलाई हक्कानी नेटवर्कको प्रमुख व्यक्तित्व मध्ये एक मानिन्थ्यो। हक्कानीको जन्म सन् १९६६ मा अफगानिस्तानको पक्तिया प्रान्तको गार्द-ए-रावा जिल्लाको कान्दु गाउँमा भएको थियो।
अमेरिकाले खलील हक्कानीको बारेमा जानकारी दिनेलाई ५० लाख डलर पुरस्कार तोकेको थियो । हक्कानी नेटवर्क अमेरिकामा ‘विदेशी आतंकवादी संगठन’को सूचीमा छ।
प्रकाशित मिति: २७ मंसिर २०८१, बिहिबार