जाजरकोटमा जीप पल्टिँदा पाँच जनाको मृत्यु, दुई घाइते


 


जाजरकोट । जाजरकोटमा गएराति जीप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ भने दुई घाइते भएका छन् ।

जिल्लाको नलगाड नगरपालिकामा ग ३ च ९८४५ नम्बरको जीप गएराति सडकबाट करिब सात सय मिटर तल खोलामा खसेको हो ।

जाजरकोट प्रहरीका अनुसार सो जीप नलगाड पाँच कालिमाटीबाट नलगाड तीन करुवा जाँदै गरेको थियो ।

मृत्यु हुनेमा नलगाड नगरपालिका ३ करुवा बस्ने जीप चालक अन्दाजी ३१ वर्षीय इन्द्रजित थापा, त्यही वडाकै अन्दाजी ६४ वर्षीया शिला पुन, अन्दाजी ३२ वर्षीया शारदा थापा, अन्दाजी १७ वर्षीया लक्ष्मी पुन रोका र उनको एक महिनाको छोरा आलोचन रोका रहेका छन् ।

घाइतेमध्ये एक जना उपचारपछि घर फर्किसकेका र अर्का एक जनाको नगर अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । जीपको ब्रेक फेल भएर दुर्घटना भएको प्रहरीले अनुमान गरेको छ ।

प्रकाशित मिति: २७ मंसिर २०८१, बिहिबार

प्रतिक्रिया दिनुहोस्