शैक्षिक गुणस्तर सुधारमा केन्द्रित हुन प्रधानमन्त्रीको आग्रह


 



पाँचथर, २६ मङ्सिर । प्रधानमन्त्री केपी शर्मा ओलीले विद्यार्थी अनुत्तीर्ण हुनु अपराध भएको बताउनुभएको छ ।

विद्यार्थी अनुत्तीर्ण हुँदा विद्यार्थीको भविष्य नै समस्यामा पर्ने भएकाले यसलाई अपराधका रूपमा लिनुपर्ने प्रधानमन्त्री ओलीको भनाइ छ । पठनपाठन प्रभावकारी हुन नसक्दा विद्यार्थी अनुत्तीर्ण हुने गरेको पाइएको बताउँदै प्रधानमन्त्री ओलीले शैक्षिक गुणस्तर सुधारमा केन्द्रित हुन शिक्षक, विद्यार्थी तथा अभिभावकहरूलाई आग्रह गर्नुभयो । 

तेह्रथुमको आठराई गाउँपालिका–४ इवा आफूले कक्षा ४ सम्म अध्ययन गरेको प्रणामी माध्यमिक विद्यालयको नवनिर्मित भवनको आज उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले शैक्षिक गुणस्तर सुधार अनिवार्य भएको बताउनुभयो ।

आफू प्रधानमन्त्रीमा नरहँदा विकास निर्माणका कार्य रोकिएको बताउँदै प्रधानमन्त्री ओलीले विकास निर्माणलाई निरन्तरता दिन, स्थिर राजनीतिक वातावरण बनाउन नेपाली कांग्रेस र नेकपा  एमालेबीच सत्ता सहकार्य भएको बताउनुभयो । उहाँले सरकारले विकास निर्माणमा अवरूद्ध योजनाहरूलाई द्रुत गतिमा अघि बढाउने बताउनुभयो ।

प्रधानमन्त्री ओलीले दक्षिण कोरियाको युम होङ गिल ह्युमन फाउण्डेसनको सहयोगमा निर्मित प्रणामी माध्यमिक विद्यालयको १८ कोठे भवनको उद्घाटन गर्नुभएको हो । उक्त भवन हालै निर्माण सम्पन्न भएको हो । भवन निर्माणमा उक्त फाउण्डेसनले रू चार करोड ४९ लाख ६० हजार, कोसी प्रदेश सरकारले रू २१ लाख ४० हजार र आठराई गाउँपालिकाले रू ६९ लाख लगानी गरेका छन् । प्रणामी माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भीम घिमिरेका अनुसार पुरानो भवनमा पठनपाठन गर्न समस्या भएपछि प्रधानमन्त्री ओलीलाई विद्यालयले बजेटको पहल गरिदिन आग्रह गरेको थियो । 

प्रधानमन्त्री ओलीकै आग्रहका युम होङ गिल ह्युमन फाउण्डेसन दक्षिण कोरियाले मुख्य लगानी गरेपछि भवन निर्माण भएको घिमिरेले बताउनुभयो । कार्यक्रममा प्रतिनिधिसभा सदस्य सीता गुरूङ, कोसी प्रदेशका सामाजिक विकासमन्त्री पाँचकर्ण राई, नेपालका लागि दक्षिण कोरियाली राजदूत पार्क ते योङ, युम होङ गिल ह्युमन फाउण्डेसनका पार्क यु सुनलगायतको समेत उपस्थिति  थियो । 

प्रकाशित मिति: २६ मंसिर २०८१, बुधबार

प्रतिक्रिया दिनुहोस्