सि.के राउतलाई थप १० दिन थुनामा राख्न आदेश


 


सिरहा, फागुन १

सि.के. राउतलाई सिरहा जिल्ला अदालतले दोस्रो पटक थप १० दिनसम्म थुनामा राखेर अनुसन्धान गर्न आदेश दिएको छ । स्वतन्त्र मधेशको पक्षमा गतिविधि गर्दै आएको आरोपमा धनुषाको जनकपुरमा पक्राउ गरी ईलाका प्रहरी कार्यालय लहानले मुद्दा दायर गरेपछि अदालतमा पेश गरिएका राउतलाई पहिलो पटक माघ २१ गते सिरहा जिल्ला अदालतले अनुसन्धानका लागि दस दिनसम्म थुनामा राख्ने आदेश दिएको थियो ।

राउतलाई जिल्ला सदरमुकाम सिरहास्थित अदालत लैजाने क्रममा उनका समर्थकहरुले मध्यान्ह सिरहाको हेमनारायण चोक र अदालत आगाडी प्रदर्शन गरेका छन् ।

प्रहरीले प्रदर्शन रोक्न खोज्दा भिड उत्तेजित भएपछि सामान्य लाठीचार्ज समेत भएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रमुख प्रहरी उपरीक्षक शेखर कोइरालाले जानकारी दिए ।

झडपमा करिब एक दर्जन प्रदर्शनकारी घाइते भएको जनाइएको छ । राउतको सिहाईको माग गर्दै प्रदर्शनमा उत्रिएकामध्ये करिब एक दर्जन जनालाई नियन्त्रणमा लिएर सोधपुछ गरिरहेको प्रहरी उपरीक्षक कोइरालाले बताए ।

प्रकाशित मिति: १ फाल्गुन २०७३, आइतबार

प्रतिक्रिया दिनुहोस्