वीरगन्जमा रवि लामिछानेको बयान लिने तयारी


 


काठमाडौँ, मंसिर २५ । सहकारी ठगी प्रकरणमा बयानका लागि वीरगन्ज लगिएका रास्वपा सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेको बयान आजै लिइने भएको छ ।

रविको बयान भोलिसम्म सकिने र बयानपछि उनलाई सिमराबाट काठमाडौं हुँदै पोखरा पठाउने तयारी गरिएको बताइएको छ ।

सोही मुद्दामा त्यहाँ लगिएका पूर्वडीआईजी छविलाल बन्जाडे जोशी र रामबहादुर खनालको बयान सोमबार नै सकिएर आजै जहाजमार्फत सिमरा–काठमाडौं हुँदै पोखरा पठाउने तयारी गरिएको छ ।

वीरगन्ज महानगरपालिका–६, आदर्शनगरमा सञ्चालित सानो पाइला बचत तथा ऋण सहकारी संस्थाबाट अवैध तवरले गोर्खा मिडिया नेटवर्क प्रालिमा ८ करोड ५८ लाख ४४ हजार रुपैयाँ प्रवाह गरिएको मुद्दामा उनीहरूमाथि अनुसन्धान भइरहेको हो ।

सानो पाइला सहकारीबाट गोर्खा मिडियाको नाममा ग्लोबल आइएमईमा सञ्चालित बैंक खातामा रकम प्रवाह गरिएको कुरा संसदीय छानबिन विशेष समितिको प्रतिवेदनले औँल्याएको थियो ।

प्रकाशित मिति: २५ मंसिर २०८१, मंगलबार

प्रतिक्रिया दिनुहोस्