एनपिएल : आज लुम्बिनी र चितवन तथा कर्णाली र पोखरा भिड्ने


 


काठमाडौं, मंसिर २५ । नेपाल प्रिमियर लिग (एनपीएल) मा आज दुई खेल हुँदैछन् ।

पहिलो खेलमा चितवन राइनोज र लुम्बिनी लायन्सबीच प्रतिस्पर्धा हुनेछ भने दोस्रो खेलमा कर्णाली याक्स र पोखरा एभेन्जर्सबीच खेल हुने छ ।

कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा पहिलो खेल बिहान ९ बजेदेखि सुरु हुनेछ भने दोस्रो खेल दिउँसो १ः१५ बजदेखि हुनेछ ।

चितवन राइनोज ६ अंकसहित अंक तालिकाको तेस्रो स्थानमा छ । उसले हालसम्म खेलेका चार खेलमध्ये तीनमा जित र एउटामा हार बेहोरेको छ । चितवन राइनोजले पहिलो खेलमा काठमाडौँ गुर्खाजलाई पाँच विकेटले तथा दोस्रो खेलमा पोखरा एभेन्जर्सलाई ८७ रनले हराएको थियो । तेस्रो खेलमा कर्णाली याक्ससँग ६ विकेटले हारेको चितवन राइनोजले चौथो खेलमा सुदूरपश्चिम रोयल्सलाई ३३ रनले हराएको थियो ।

यस्तै लुम्बिनी लायन्स चारवटै खेलमा हार बेहोर्दै अङ्क तालिकाको पुछारमा छ । लुम्बिनी पहिलो खेलमा विराटनगरसँग दुई विकेटले, दोस्रो खेलमा पोखरासँग १० विकेटले, तेस्रो खेलमा सुदूरपश्चिमसँग ४५ रनले तथा चौथो खेलमा जनकपुरसँग एक रनले पराजित भएको थियो ।

कर्णाली याक्सले मध्यम प्रदर्शन गरेको छ । कर्णाली याक्सले चार खेलमा दुईमा जित र दुईमा हार बेहोर्दै चार अङ्क जोडेको छ । कर्णाली चौथो स्थानमा छ । कर्णाली पहिलो खेलमा जनकपुरसँग आठ विकेटले र दोस्रो खेलमा काठमाडौँ गुर्खाजसँग तीन विकेटले हारेको थियो । कर्णालीले तेस्रो खेलमा चितवनलाई ६ विकेटले तथा चौथो खेलमा विराटनगरलाई सात रनले हराएको थियो ।

यसैगरी पोखरा एभेन्जर्स दुई अङ्कसहित पाँचौँ स्थानमा छ । उसले तीन खेलमा एकमा जित दुईमा हार बेहोरेको छ । पोखरा पहिलो खेलमा चितवनसँग ८७ रनले र दोस्रो खेलमा जनकपुरसँग सात विकेटले पराजित भएको थियो । तेस्रो खेलमा पोखराले लुम्बिनी लायन्सलाई १० विकेटले हराएको थियो ।

आइतबारसम्म १५ खेल सम्पन्न भएका छन् । जनकपुर बोल्ट्स आफ्ना सबै खेलमा विजयी हुँदै अङ्क तालिकामा शीर्ष स्थानमा रहेको छ ।

प्रकाशित मिति: २५ मंसिर २०८१, मंगलबार

प्रतिक्रिया दिनुहोस्