सहकारी ठगी प्रकरण : रवि लामिछानेलाई काठमाडौं हुँदै वीरगन्ज लगियो
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई पोखराबाट काठमाडौं हुँदै वीरगन्ज लगिएको छ ।
जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा रहेका लामिछानेलाई पोखराबाट काठमाडौं हुँदै वीरगन्ज लगिएको हो ।
लामिछानेलाई पोखराबाट जहाजमा काठमाडौं हुँदै सिमरा पुर्याइएको र त्यहाँबाट गाडीमा वीरगन्ज लगिएको प्रहरी स्रोतले बतायो ।
लामिछानेसँगै गोर्खा मिडिया नेटवर्कका अर्का सञ्चालक पूर्वडीआईजी छविलाल जोशीलाई भने पोखराबाटै सडकमार्ग हुँदै वीरगन्ज पुर्याइएको छ ।
उनीहरूमाथि वीरगन्जको सानोपाइला बचत तथा ऋण सहकारीका बचतकर्ताको रकम हिनामिना गरेको आरोप छ ।
यसअघि लामिछाने र जोशीमाथि छानबिन गर्न कास्की जिल्ला अदालतले आइतबार ४ दिनको म्याद थप गरेको थियो ।
सूर्यदर्शन सहकारीको संस्थापक अध्यक्ष जीबी राईसँग मिलेर सभापति लामिछानेले गोर्खा मिडिया नेटवर्कमा रकम ल्याएर अपचलन गरेको मुद्दा जिल्ला प्रहरी कार्यालय कास्कीले अनुसन्धान गरिरहेको छ।
सभापति लामिछाने र सूर्यदर्शन सहकारीको संस्थापक अध्यक्ष जीबी राई व्यापारिक साझेदार हुन् ।
उनीहरूले सञ्चालन गरेको गोर्खा मिडिया नेटवर्कमा पाँच वटा सहकारीबाट ६५ करोड ५४ लाख अवैध तरिकाले आएको सूर्य थापा नेतृत्वको संसदीय छानबिन समितिको निष्कर्ष छ ।
प्रकाशित मिति: २४ मंसिर २०८१, सोमबार