४ दिनमै पुष्पाले उठायो लगानी र अल्लु अर्जुनको पारिश्रमिक


 


नयाँ दिल्ली । दक्षिण भारतीय सुपरस्टार अल्लु अर्जुन, रश्मिका मन्डन्ना र फहद फासिलको फिल्म ‘पुष्पा २ः द रुल’को क्रेज दर्शकमाझ पहिलो दिन जस्तै छ । चौथो दिनमा पनि फिल्मको कमाई धेरै घटेको छैन ।

पहिलो दिन १६४ करोड २५ लाख भारु कमाएको फिल्मले चौथो दिन १४१ करोड ५० लाख भारु कमाएको छ । फिल्मले भारतमा मात्रै ४ दिनमा ५२९ करोड ४५ लाख भारु कलेक्सन गरेको छ । तेलुगुमा बनेको ‘पुष्पा २’ ले हिन्दीमा निकै राम्रो प्रतिक्रिया पाइरहेको छ । चौथो दिन हिन्दी बेल्टमा फिल्मको कमाई ८५ करोड भारु थियो ।

फिल्मले हिन्दी बक्स अफिस कलेक्सनको कीर्तिमान तोडेको छ । कुनै पनि बलिउड फिल्मले एकै दिन ८५ करोड कमाउन सकेको छैनन् । स्याकनिल्कको रिपोर्टका अनुसार ‘पुष्पा २’ले आइतबार १४१ करोड ५० लाख भारु कमाएको छ । यसले हिन्दीमा ८५ करोड, तेलुगुमा ४४ करोड, तमिलमा साढे ९ करोड, मलायालममा १ करोड ९० लाख र कन्नडमा १ करोड १० लाख भारुको व्यापार गरेको छ । ४ दिनमा ग्लोबल बक्स अफिसमा फिल्मको कमाई ७ सय करोड भारु पुगेको छ । फिल्म छिट्टै एक हजार करोड क्लबमा पुग्ने अनुमान गरिएको छ ।

अल्लु अर्जुनको पुष्पा २ः द रुलु भारतमा अहिलेसम्मकै सबैभन्दा ठुलो विकेन्ड ओपनर बनेको छ फिल्मको कुल बजेट ४ सय करोड रहेको थियो । अल्लु अर्जुनले यस फिल्मका ३०० करोड भारु लिएको खबर आइरहेको छ । अर्थात् ४ दिनमै निर्माताहरूले फिल्मबाट अल्लु अर्जुनको पारिश्रमिक र बजेट दुवै फिल्मबाट उठाइसकेका छन् ।

प्रकाशित मिति: २४ मंसिर २०८१, सोमबार

प्रतिक्रिया दिनुहोस्