सुनको सिक्री लुटपाट गरेको आरोपमा दुई जना पक्राउ


 


काठमाडौं । सुनको सिक्री लुटपाट गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

प्रहरी वृत्त स्वयम्भूको टोलीले लुटपाटमा संलग्न दुई जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा धादिङको धुनिवेशी नगरपालिका-२ घर भइ काठमाडौंको नागार्जुन बस्दै आएका ४२ वर्षीय गोरे तामाङ र काठमाडौंको बिजेश्वरी घर भएका ३९ वर्षीय कृष्णप्रसाद श्रेष्ठ छन् ।

श्रेष्ठले मोटरसाइकल चलाउने र त्यसको पछाडि बसेर तामाङले सिक्री लुटेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

उनीहरुले मंसिर २० गते नागार्जुनको टौखलमा ७२ वर्षीया मैया बुढाथोकीको सिक्री लुटेका थिए ।

बुढाथोकीको गलामा लगाएको २ तोलाको सुनको सिक्री उनीहरुले थुतेर भागेका थिए ।

पक्राउ परेकाहरुविरुद्ध प्रहरी स्वयम्भूले अनुसन्धान अघि बढाएको छ ।

प्रकाशित मिति: २३ मंसिर २०८१, आइतबार

प्रतिक्रिया दिनुहोस्