आजदेखि मतदाता नामावली दर्ता कार्य सञ्चाल गरिँदै


 


काठमाडौँ, मंसिर २३ । निर्वाचन आयोगले आज (आइतबार)देखि मतदाता नामावली दर्ता कार्य सञ्चालन गर्ने भएको छ ।

स्थानीय तह उपनिर्वाचनको मिति घोषणा भएपछि असोज पहिलो सातादेखि नामावली सङ्कलन कार्य रोकिएको थियो । उपनिर्वाचन सकिएपछि निर्वाचन आयोगको पदाधिकारी बैठकले अवरुद्ध नामावली सङ्कलन, दर्ता तथा अद्यावधिक कार्य आइतबारबाट पुनः सुरु गर्ने निर्णय गरेको हो ।

आयोगले पेसा, व्यवसाय वा अन्य कारणले आफ्नो स्थायी ठेगानाभन्दा फरक अर्को कुनै स्थानीय तह वा प्रदेशमा बसोबास गरे पनि प्रि–रजिस्ट्रेसन प्रणालीमार्फत आवेदन गर्न सक्ने व्यवस्था मिलाएको छ । आयोगको वेबसाइटमार्फत नामावली राख्ने व्यक्तिको स्थायी ठेगानामा रहने गरी मतदाता नामावली दर्ता गर्न सक्ने व्यवस्था मिलाइएको आयोगले जनाएको छ ।

आयोगले दर्तासँगै नामावलीमा रहेको त्रुटि सच्याउने, दोहोरो नाम भएको भए हटाउने र मृत्यु तथा बसाइँसराइको विवरण अद्यावधिक गर्नेलगायतका कामसमेत प्रि–रजिस्ट्रेसन प्रणालीमार्फत गर्न सक्ने जनाएको छ ।

प्रकाशित मिति: २३ मंसिर २०८१, आइतबार

प्रतिक्रिया दिनुहोस्