लोकतन्त्रमा देखिने गरी काम भएको छः महासचिव पोखरेल


 



दाङ, २२ मङ्सिर । नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले लोकतन्त्रमा जनताले देखिने गरी काम भएको बताउनुभएको छ ।

तुलसीपुर उपमहानगरपालिका–१९ को प्रशासनिक भवनको आज उद्घाटन गर्दै उहाँले विगतभन्दा पछिल्लो समय धेरै उपलब्धि प्राप्त भएको बताउनुभयो ।

महासचिव पोखरेलले राजनीतिक अस्थिरताका कारण विकासमा केही समस्या भए पनि केही भएन भनेर जनतामा निराशा र समाजमा अराजकता फैलाउनु गलत भएको बताउनुभयो । उहाँले सडक, बाटोघाटो, शिक्षा, स्वास्थ्य र अत्यावश्यक पूर्वाधार विकासमा उल्लेख्य प्रगति भएको भन्दै नकारात्मकभन्दा सकारात्मक कुरामा ध्यान दिन सबैलाई आग्रह गर्नुभयो ।

तुलसीपुर उपपमहानगरपालिकाले विकासमा फड्को मारेको उल्लेख गर्दै महासचिव पोखरेलले १९ वटै वडा कार्यालय आफ्नै भवनबाट सञ्चालनमा आउनु ठूलो उपलब्धि भएको धारणा राख्नुभयो ।

तुलसीपुर उपमहानगर प्रमुख टीकाराम खड्काले पालिकाका १९ वटै वडाले आफ्नै भवनबाट सेवा प्रारम्भ गरेको बताउनुभयो । उहाँले यसै महिनामा कृषि, पशु शाखा, वडा र स्वास्थ्य शाखाले आफ्नै भवनबाट सेवा सुरु गरेको भन्दै वडाको प्रशासनिक कार्यालयसम्म आउने सडकलाई कालोपत्र गर्ने काम छिट्टै सुरुआत गरिने बताउनुभयो । 

कार्यक्रममा  राष्ट्रिय दलित आयोगका अध्यक्ष देवराज विश्वकर्मा, तुलसीपुुर उपमहानगरपालिकाका पूर्वनगरप्रमुख घनश्याम पाण्डे, वडा नं १९ का अध्यक्ष प्रेमनाथ योगीलगायतले धारणा राख्नुभएको थियो । 

प्रकाशित मिति: २२ मंसिर २०८१, शनिबार

प्रतिक्रिया दिनुहोस्