सामाजिक सञ्जालमार्फत महिलाको चरित्रहत्या तीन जना पक्राउ
काठमाडौं, मंसिर २२ । सामाजिक सञ्जालमार्फत महिलाको चरित्रहत्या गर आरोपमा तीन जना पक्राउ परेका छन् ।
साइबर ब्युरोको टोलीले शुक्रबार रौतहटका कृष्णप्रसाद अधिकारी, चितवनका रूपक शर्मा पौडेल र सप्तरीका लक्ष्मण यादवलाई पक्राउ गरेको हो । टोलीले उनीहरूलाई विभिन्न स्थानबाट नियन्त्रणमा लिएको जनाएको छ ।
रौतहटका कृष्णप्रसाद अधिकारीले पीडित महिलासँग फेसबुकमार्फत कुराकानीको क्रममा महिलाका गोप्य तस्बिर र भिडिओ मागे । ती सामग्री आफन्त र साथीहरूको म्यासेन्जरमा पठाई आफ्नो चरित्रहत्या गरेको भन्दै प्रहरी पीडित महिलाले प्रहरी कार्यालयमा उजुरी दिइन् । यसपछि पक्राउ परेका अधिकारीलाई विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसूरमा जिल्ला अदालत काठमाडौंबाट सात दिनको म्याद थप गरी अनुसन्धान भइरहेको छ ।
चितवनका ३७ वर्षीय रूपक शर्मा पौडेलले प्रेम सम्बन्धमा पुगेपछि पीडित महिलासँग गोप्य तस्बिर आदानप्रदान गरेका थिए । पौडेलले ती फोटोमा अश्लील शब्दहरू लेखेर पीडितको सम्पर्क नम्बरसहित ह्वाट्सएप ग्रुपमा पोस्ट गरेका थिए । यस घटनापछि पीडित महिलाले उजुरी दिएकी थिइन् ।
अर्का आरोपी सप्तरीका २४ वर्षीय लक्ष्मण यादव भनिने जगदिशप्रसाद यादव पनि पक्राउ परेका छन् । फेसबुकमार्फत चिनजान भई निकट सम्बन्धमा रहँदा खिचिएका तस्बिर तथा रेकर्ड गरिएका भिडिओ आफन्तलाई पठाएको थाहा पाएपछि महिलाले उजुरी दिएकी थिइन् । ब्युरोको टोलीले यादवलाई कतारबाट नेपाल फर्किंदा विमानस्थलबाट उनलाई नियन्त्रणमा लिइएको जनाएको छ ।
प्रकाशित मिति: २२ मंसिर २०८१, शनिबार