मधेसमा यस वर्ष धान उत्पादन बढ्ने अनुमान
धनुषा, मंसिर २२ । मधेश प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले यस वर्ष प्रदेशमा १५ लाख दुई हजार चार सय ५८ मेट्रिक टन धान उत्पादन हुने अनुमान गरेको छ ।
गएको आर्थिक वर्षमा १२ लाख ९६ हजार ६ सय सात मेट्रिक टन धान उत्पादन भएकामा यस वर्ष उत्पादन बढ्ने मन्त्रालयको अनुमान छ ।
समयमै पानी परेको, मल तथा बीउ सजिलो गरी उपलब्ध भएको तथा मौसमले साथ दिएकाले धान उत्पादन राम्रो भएको मन्त्रालयका कृषि प्रसार अधिकृत तथा प्रवक्ता रोशनकुमार मेहताले बताउनुभयो ।
धानबाली लगाइएको क्षेत्रफल तथा उत्पादन हुने अनुमानका आधारमा गएको वर्षको तुलनामा यस वर्ष प्रतिहेक्टर श“न्य दशमलव पाँच मेट्रिक टन धान बढी उत्पादन हुने मन्त्रालयको अनुमान छ । गएको वर्ष प्रतिहेक्टर तीन दशमलव ५० मेट्रिक टन धान उत्पादन भएको थियो ।
सप्तरीमा ६५ हजार दुई सय ८० हेक्टर जमिनमा दुई लाख ६१ हजार एक सय २० मेट्रिक टन र रौतहटमा ३७ हजार ६ सय २० हेक्टरमा एक लाख ५० हजार चार सय ८० मेट्रिक टन धान उत्पादन हुने मन्त्रालयको अनुमान छ ।
पर्सामा ४६ हजार हेक्टरमा एक लाख ८४ हजार सात सय ४९ मेट्रिक टन, सर्लाहीमा ४५ हजार हेक्टरमा एक लाख ८२ हजार एक सय ६० मेट्रिक टन, धनुषामा ४१ हजार पाँच सय ६५ हेक्टरमा एक लाख ६६ हजार दुई सय ६० मेट्रिक टन धान उत्पादन हुने अनुमान गरिएको छ ।
महोतरीमा ४१ हजार नौ सय ८२ हेक्टरमा एक लाख ६७ हजार सात सय ७० मेट्रिक टन, सिरहामा ५२ हजार तीन सय ८० हेक्टरमा दुई लाख नौ हजार पाँच सय २० मेट्रिक टन, बारामा ४५ हजार ९९ दशमलव पाँच हेक्टरमा एक लाख ८० हजार तीन सय ९८ दशमलव चार मेट्रिक टन धान उत्पादन भएको अनुमान गरिएको छ ।
जनकपुरमा रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको कार्यालयले किसानसँग धान खरिद प्रक्रिया भइसकेको जनाएको छ ।
प्रकाशित मिति: २२ मंसिर २०८१, शनिबार