एम्बुलेन्समा भेटियो ठूलो मात्रामा लागूऔषध, चालक पक्राउ
काठमाडौं, मंसिर २२ । काभ्रेको रोशीबाट ठूलो मात्रामा लागू औषधसहित एम्बुलेन्स चालकलाई पक्राउ परेका छन् ।
बीपी राजमार्गमा पर्ने रोशी गाउँपालिका–९ बाट धनुषा जिल्लाको धनुषाधाम नगरपालिका ६ हरिपुर निवासी ४४ वर्षीय सुरेश मिझार पक्राउ परेका हुन् ।
प्रहरी निरीक्षक कृष्ण गिरीको कमाण्डमा खटिएको प्रहरी टोलीले बिहीबार महोत्तरीको बर्दिबासबाट बिरामी लिएर काठमाडौँ आउँदै गरेको अवस्थामा ज १ च १९०८ नम्बरको एम्बुलेन्ससहित त्यसका चालक मिझारलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय काभ्रेका डीएसपी मिनबहादुर घलेले जानकारी दिए ।
उनका अनुसार सुनौलो सुनौल २ महोत्तरीद्वारा सञ्चालित उक्त एम्बुलेन्सलाई जाँच गर्ने क्रममा चालककको सिट पछाडि राखिएको जेब्रा झोलाबाट विभिन्न प्रकारका तीन हजार एम्पुल लागु औषध बरामद गरिएको हो ।
उनलाई शुक्रबार जिल्ला अदालत काभ्रेबाट पाँच दिनको म्याद थप गरेर अनुसन्धान प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: २२ मंसिर २०८१, शनिबार