संघर्ष समितिको सट्टा सहयोग समिति बनाउनुस्-उर्जामन्‍त्री


 


दार्चुला,  फागुन १

ऊर्जामन्त्री जनार्दन शर्मा प्रभाकरले जलविद्युत आयोजना स्थलहरुमा संघर्ष समितिको सट्टा सहयोग समिति बनाउन स्थानीहरुलाई आग्रह गरेका छन्। ऊर्जा मन्त्रालयले नेपालको पानी, जनताको लगानी कार्यक्रम ल्याएको छ, स्थानीय जनतालाई शेयर लगानीमा पहिलो प्राथमिकता दिइन्छ, त्यसैले अब जलविद्युत आयोजनाहरुमा तपाईहरुले संघर्षको सट्टा सहयोगको अभियान चलाउनु पर्छ, मन्त्री शर्माले भने।

उनले जलाशययुक्त आयोजनास्थलबाट बिस्थापित जनाका लागि सरकारले सुविधासम्पन्न आयोजना योजना ल्याउने बताए। उनले डोटी, बैतडी र डडेलधुराको सीमानामा बन्न लागेको ७५० मेगावाट क्षमताको पश्चिम सेती जलविद्युत आयोजना पुराभएपछि सिंगो सुदुरपश्चिमका जनता सम्पन्न हुने बताए।

 दार्चुलास्थित ३० मेगावाट क्षमताको चमेलिया जलविद्युत आयोजनाको स्थलगत अनुगमन गरेका मन्‍त्री शर्माले सन् २०१७ भित्र निर्माणको पुरा गर्न निर्देशन दिए। अनुगमन टोलीमा ऊर्जा मन्त्रालयका सचिव अनुपकुमार उपाध्याय र नेकपा माओवादी केन्द्रका ७ नं प्रदेश इञ्चार्ज तथा पूर्व आपूर्तिमन्त्री लेखराज भट्ट पनि सहभागी थिए। मन्त्री शर्माले  दार्चुलाको गोकुलेश्वरस्थित गोकुलेश्वर बहुमुखी क्याम्पसको नवनिर्मित भवनको पनि उद्घाटन गरे।

प्रकाशित मिति: १ फाल्गुन २०७३, आइतबार

प्रतिक्रिया दिनुहोस्