प्रधानमन्त्री ओली आज स्वदेश फर्किँदै
काठमाडौं, मंसिर २० । प्रधानमन्त्री केपी शर्मा ओली चीनको चारदिने औपचारिक भ्रमण पूरा गरी आज स्वदेश फर्किने भएका छन् ।
चीनका प्रधानमन्त्री ली छ्याङको मैत्रीपूर्ण निमन्त्रणामा उनी गएको सोमवार नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै त्यहाँ गएका थिए ।
चीनको औपचारिक भ्रमण पूरा गरी प्रधानमन्त्री ओली आज दिउँसो काठमाण्डौ आइपुग्ने कार्यक्रम छ । बेइजिङमा रहँदा प्रधानमन्त्री ओलीले चीनका राष्ट्रपति सी जिनपिङसँग भेटवार्ता गरेका थिए । त्यस अवसरमा उनीहरूबीच नेपाल–चीन सम्बन्धका साथै द्विपक्षीय हित र चासोका विविध विषयमा विचारविमर्श भएको थियो ।
भ्रमणका क्रममा प्रधानमन्त्री ओली र उनका चिनियाँ समकक्षीको उपस्थितिमा नेपाल र चीनबीच विभिन्न समझदारी भएका छन् । दुवै देशका प्रधानमन्त्रीबीच द्विपक्षीय वार्तापछि पारस्परिक सहयोगसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
नेपाल र चीनबीच भएको टोखा–छहरे सुरुङमार्ग निर्माणसम्बन्धी समझदारीपत्रमा दुवै देशका सम्बद्ध अधिकारीले हस्ताक्षर गरेर आदानप्रदान गरेका छन् । यसैगरी नेपाल–चीन व्यापार अभिवृद्धिसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ ।
चीनले काठमाण्डौ बसन्तपुरको नौतले दरबार पुनःनिर्माण सम्पन्न गरेको प्रमाणपत्र आदानप्रदान भएको छ । यसका साथै भैँसीको मासु चीन निर्यातसम्बन्धी प्रोटोकलमा समझदारी भएको छ ।
यस्तै, विकास आयोजना, आर्थिक तथा प्राविधिक सहयोग तथा नगद सहयोगसम्बन्धी सम्झौता र समझदारीपत्रमा हस्ताक्षर भएको छ ।
यस अवसरमा नेपाल र चीनबीच बीआरआई फ्रेमवर्कसहित विभिन्न महत्वपूर्ण सम्झौता भएका छन् । सन् २०२५ मा चीनबाट धेरै पर्यटक नेपाल भित्र्याउनेबारे पनि उनीहरूबीच कुराकानी भएको छ । यसैबीच प्रधानमन्त्री ओलीले चीनका प्रधानमन्त्रीलाई नेपाल भ्रमणको निम्तो दिएका छन् ।
प्रकाशित मिति: २० मंसिर २०८१, बिहिबार