अब माओबादीलाई अपमानित गर्नेहरूविरुद्ध लडाईं लड्छौं : प्रचण्ड
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकलाई फेरि नयाँ क्रान्तिको आवश्यकता रहेको बताएका छन् ।
गणतन्त्र सेनानी कोषले आयोजना गरेको गणतन्त्र सेनानी सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन् ।
अध्यक्ष प्रचण्डले आफ्नो पार्टीलाई अपमानित गर्नेहरूविरुद्ध लडाईं लड्न अगाडि बढेको बताए । प्रतिक्रियावादीहरूको हर्कतलाई परास्त गर्न जनतासमक्ष पुग्नुपर्ने बताउँदै उनले नयाँ जनक्रान्तिको आवश्यकता रहेको दाबी गरे ।
अध्यक्ष प्रचण्डले भने,‘सबै क्रान्तिकारी पार्टीहरूलाई एकताबद्ध गर्ने र ठूलो एउटा नयाँ जनक्रान्तिको आवश्यक छ । त्यो क्रान्तिको सुरुवात हामीले गरेका छौं।’
भ्रष्टाचारविरोधी अभियान, सामाजिक न्याय र आर्थिक समृद्धिको उद्देश्यका लागि उक्त आन्दोलन सुरु गरिएको उनले बताए । उनले माओवादी अब कसैको वैशाखी नटेकी आफ्नै खुट्टामा उभिएर लड्ने पनि जिकिर गरे ।
उनले अब हुने क्रान्ति पहिलेजस्तो सशस्त्र नहुने बरु जनतामा गएर जनताकै बलमा भ्रष्टाचार र बेथितिविरुद्ध आन्दोलन अघि बढाउने बताए।
लाखौं लाख जनता सडकमा लिएर हिजो संविधान लेखनको क्रममा फरक मतको छाडेका मुद्दा अघि बढाइने र गणतन्त्रलाई जनताको व्यवस्था बनाउने अभियानलाई पूर्णता दिइने उनको भनाइ छ।
प्रकाशित मिति: १९ मंसिर २०८१, बुधबार