बेपत्ता युवती जङ्गलमा गाडिएको अवस्थामा फेला


 


गोरखा, मंसिर १९ । चार दिनदेखि सम्पर्कविहीन भएकी बारपाक सुलिकोट गाउँपालिका–१ बारपाककी एक युवतीको शव फेला परेको छ ।

यही मङ्सिर १५ गते शनिबार घाँस काट्न भनेर जङ्गल गएकी १८ वर्षीया सुचिना घलेको शव गाडिएको अवस्थामा भेटिएको हो ।

जङ्गलबाट सुचिना घर नफर्किएपछि परिवारले खोजीका लागि प्रहरीलाई जानकारी गराएको थियो ।

प्रहरी चौकी बारपाक र इलाका प्रहरी कार्यालय जौवारीबाट खटिएको प्रहरीले खोजतलासका क्रममा स्थानीय मैखर्कको जङ्गलमा खाल्डोमा पुरिएको अवस्थामा सुचिनाको शव फेला पारेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक इन्द्रप्रसाद सुवेदीले जानकारी दिए ।

युवतीको हत्या भएको अनुमान गरिएको छ । गण्डकी प्रदेश प्रहरी कार्यालय पोखरासँग समन्वय गरी कुकुरसहितको विशेषज्ञ टोलीले अनुसन्धान सुरु गरेको छ ।

घटनास्थलमा जिप्रका गोरखाबाट डिएसपीको नेतृत्वमा प्रहरी टोली परिचालन गरिएको छ । प्रहरीका अनुसार घटनास्थल नजिकै डोको, रगत र कपालसमेत भेटिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: १९ मंसिर २०८१, बुधबार

प्रतिक्रिया दिनुहोस्