चिनले नेपाललाई नौ अर्ब अनुदान सहयोग गर्ने


 


बेइजिङ । चीन सरकारले नेपाललाई करिब ९ अर्ब अनुदान सहयोग गर्ने घोषणा गरेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओली र चीनका राष्ट्रपति सी चिनफिङबीच मंगलबार भएको भेटवार्तामा राष्ट्रपति सीले नेपाललाई पाँच सय मिलियन आरएमबी अर्थात करिब ९ अर्ब रुपैयाँ अनुदान दिने घोषणा गरेका हुन् ।

परराष्ट्र मन्त्रालयका प्रवक्ता कृष्णप्रसाद ढकालले प्रधानमन्त्री ओली र राष्ट्रपति सीबीच भएको भेटवार्ताका क्रममा सो घोषणा भएको बताए । भेटवार्तामा द्विपक्षीय सम्बन्ध र हितका विविध विषयमा विस्तृत छलफल भएको उनले जानकारी दिए ।

उनका अनुसार नेपाल र चीन पुराना र असल छिमेकी तथा मित्रराष्ट्र भएको उल्लेख गर्दै राष्ट्रपति सीले दुई देशबीचको सम्बन्ध आपसी सद्भाव, सम्मान र सहयोगमा आधारित रहेको बताएका थिए ।

राष्ट्रपति सीले नेपाली वस्तु चिनियाँ बजारमा आयात गर्न र चिनियाँ लगानीकर्तालाई नेपालमा लगानीका लागि प्रोत्साहन गर्न तयार रहेको समेत बताए ।

सो अवसरमा प्रधानमन्त्री ओलीले चीन र नेपालको सम्बन्ध पञ्चशीलको सिद्धान्तमा आधारित रहेको बताउँदै आपसी सम्बन्धको मूल आधार सार्वभौमिक समानता र आपसी समझदारी एवं विश्वास भएको स्पष्ट पारे ।

दुई देशबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७० औँ वर्षको अवसरमा सन् २०२५ मा नेपाल भ्रमण गर्न प्रधानमन्त्री ओलीले राष्ट्रपति सीलाई निमन्त्रणा दिएका छन् ।

प्रकाशित मिति: १९ मंसिर २०८१, बुधबार

प्रतिक्रिया दिनुहोस्