एनपीएल : पोखरा एभेन्जर्सलाई चितवन राइनोजले ८७ रनले हरायो
काठमाडौँ १८ मङ्सिर। काठमाडौँमा जारी नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा मङ्गलवार भएको खेलमा चितवन राइनोजले पोखरा एभेन्जर्सलाई ८७ रनले हराउँदै आफ्नो लगातार दोस्रो जित दर्ता गरेको छ ।
चितवनले दिएको १६२ रनको लक्ष्य पछ्याउन मैदानमा उत्रिएको पोखरा एभेन्जर्सको ब्याटिङ भने कमजोर रह्यो । चितवनलाई जित दिलाउन सोहेल तन्वीर, रिजन ढकाल र लुक बेन्केनस्टेइनले समान तीन विकेट लिए । एक विकेट दीपक बोहराको नाममा रह्यो । पोखराले खेलको ३।२ ओभरमै ६ विकेट गुमाउँदै ७ रन मात्र बनाउन सक्यो ।
पोखराले केही सम्हाल्ने प्रयास गरे पनि १३.२ ओभरमा ७४ रनमै अलआउट भयो । मार्कस क्रिचले १७ र नारायण जोशीले ३० रन बनाउँदै केही योगदान दिए । बाँकी ब्याटरले दोहोरो अङ्क जोड्न सकेनन् ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १६१ रन बनाएको थियो । चितवनका लागि रवि बोपराले उत्कृष्ट अर्धशतक प्रहार गर्दै ५१ रन बनाए। कप्तान कुशल मल्लले ३८, लुक बेन्केनस्टाइनले १६ र हसन इसाखिलले १४ रनको योगदान दिए ।
पोखराका बलरहरूमध्ये विपिन खत्री र बास डी लिडेले २–२ विकेट लिए भने सागर ढकाल र रेमन रेफरले १–१ विकेट हात पारे ।
लगातार दोस्रो जित हासिल गरेको चितवनको ४ अङ्क भएको छ । पहिलो खेलमै लज्जास्पद हार बेहोरेको पोखराले कुनै अङ्क जोड्न सकेन ।
चितवनले आफ्नो पहिलो खेलमा काठमाडौँ गुखार्जलाई पाँच विकेटले हराएको थियो । चितवनले अब तेस्रो खेलमा शुक्रबार कर्णाली याक्सको सामना गर्नेछ । पोखराले आफ्नो दोस्रो खेलमा बिहीबार जनकपुर बोल्ट्सको सामना गर्नेछ ।
प्रकाशित मिति: १८ मंसिर २०८१, मंगलबार