कांग्रेस महामन्त्री शर्मा भन्छन् – उपनिर्वाचनमा एक्लै लड्दा प्राप्त स्थान गुणात्मक रुपमा महत्त्वपूर्ण छ
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले उपनिर्वाचनमा पार्टीको प्रदर्शन सन्तोषजनक र उत्साहवर्द्धक रहेको बताएका छन् ।
महामन्त्री शर्माले आज प्रारम्भिक समीक्षा सार्वजनिक गर्दै ‘एक्लै लडेर प्राप्त स्थान’ लाई सन्तोषजनक एवं उत्साहवर्द्धक बताएका हुन् ।
उनले अरु दलहरूको वैशाखी टेकेर जितेको सिट भन्दा एक्लै लडेर जितेको सिट महत्त्वपूर्ण भएको बताए ।
दुई जिल्ला समन्वय समितिका प्रमुख र एउटा वडा अध्यक्ष पद यसअघि नै निर्विरोध भएको थियो भने आइतबार ४१ पदमा मतदान भएको हो ।
समग्रमा कुल ४४ पदमध्ये कांग्रेस १९, माओवादी ११, एमाले ८, जसपा २ तथा एस, रास्वपा, नेमकिपा र स्वतन्त्र १ १ पदमा विजयी भएका छन् ।
अन्तिम मतपरिणामअनुसार माओवादीले २ पदाधिकारी र एमालेले ३ पदाधिकारी थपेका छन् । कांग्रेसले यसअघि जितेका ६ मध्ये काठमाडौंको कीर्तिपुर नगरपालिका प्रमुखको पद मात्र सुरक्षित राख्न सकेको छ ।
कांग्रेस महामन्त्री शर्माले भने, ‘उपनिर्वाचनमा मतदाताको व्यापक सहभागिताले लोकतान्त्रिक प्रणालीप्रति नागरिकको समर्थन र एक्यवद्धता फेरि एकपटक बलियो रूपमा प्रदर्शित भएको छ । मुलतः मुख्य दलहरूप्रति मतदाताले प्रकट गरेको समर्थनलाई विद्यमान प्रणाली मार्फत प्रगतिको दिशामा प्राप्त ऐक्यबद्धताका रूपमा लिएर तिनै तहका सरकारले काममा गति बढाउँदै नागरिक विश्वास अझ बलियो बनाउन जरुरी छ ।’
उपनिर्वाचन भएका पालिका प्रमुख, उप प्रमुख, अध्यक्ष र उपाध्यक्ष गरी कांग्रेसले ८ पद जितेको थियो ।
यसअघि जितेको मोरङको ग्रामथान अध्यक्ष, जाजरकोटको नलगाड उपप्रमुख, दैलेखको महाबु गाउँपालिकाको अध्यक्ष, दोलखाको गौरीशंकर र बाजुराको स्वामिकार्तिक खापरमा कांग्रेसले गुमाएको छ ।
प्रकाशित मिति: १८ मंसिर २०८१, मंगलबार