नक्कली सुन देखाएर ठगी धन्दा चलाउने गिरोह पक्राउ
विराटनगर, मंसिर १८ । नक्कली सुनका गरगहना देखाएर सर्वसाधारणलाई ठगी गरेको आरोपमा प्रहरीले दुई जना भारतीयसहित ६ जनालाई पक्राउ गरेको छ ।
ठगी आरोपमा मोरङ प्रहरीले झापाको कमल गाउँपालिका–१ तोपगाछीका ५२ वर्षीय अशोक तामाङ, कनकाई नगरपालिका–९ घैलाडुब्बाका ५९ वर्षीय धकलबहादुर थिङ, अर्जुनधारा नगरपालिका–११ का ५४ वर्षीय प्रवीन तामाङ र हल्दिबारी गाउँपालिका–३ का ६६ वर्षीय रामबहादुर कन्दङवा, भारतको दार्जिलिङका ५१ वर्षीय नारायण गुरुङ र ३४ वर्षीय सञ्जय शर्मा पक्राउ गरेको हो ।
मोरङ प्रहरी प्रवक्ता डीएसपी वेदप्रकाश जोशीका अनुसार यो गिरोहले झापा, मोरङ र सुनसरीका विभिन्न स्थानमा ठगी गरेको थियो ।
गत २७ कात्तिक सोही समूहका अशोक तामाङले विराट शिक्षण अस्पतालमा उपचारका लागि आएका संखुवासभाको पाँचखपन नगरपालिका–५ का कृष्णबहादुर तामाङको साथमा रहेको एक लाख १० हजार रूपैयाँ चोरेर लगेका थिए । उनी पक्राउ गरेपछि प्रहरी यो गिरोहसम्म पुगेको हो ।
प्रहरीले गिरोहलाई इटहरीका विभिन्न स्थानबाट पक्राउ गरेको थियो । उनीहरुलाई म्याद थप गरी अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार उनीहरुले हटिया, अस्पताल, मेला, पर्व र भिडभाड बढी हुने ठाउँमा गएर गरगहना लगाएका सोझा र वृद्ध अवस्थाका मानिसहरुलाई नक्कली सुन देखाएर ठगी गर्ने गरेको देखिएको छ ।
प्रहरीले गिरोहको साथबाट २ लाख ७२ हजार ४ सय ३० नेपाली र २ हजार ६ सय ३० भारती रूपैयाँसहित तिलहरी, हार, मंगलशूत्र, टिल, चन्द्रमा, कानमा लगाउने रिङ, बेरुवा, लकेट, सिक्री, झुम्का, टप, ब्रासलेट, औंठी, चाँदीको पाउजू, जिमाला, कालो पोतेलगायत सामग्री बरामद गरेको जनाएको छ ।
प्रकाशित मिति: १८ मंसिर २०८१, मंगलबार