कञ्चनजङ्गा गोल्डकपमा भारतलाई पछि पार्दै धरान सेमिफाइनलमा प्रवेश
ताप्लेजुङ १७ मङ्सिर । ताप्लेजुङको फुङलिङमा जारी दोस्रो कञ्चनजङ्गा (सेसेलुङ) अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप फुटबल आज भएको खेलमा धरान सेमिफाइनलमा प्रवेश गरेको छ ।
२–० अन्तरले भारतको सिलगुढीलाई पछि पार्दै धरान सेमिफाइनलमा प्रवेश गरको हो ।
आयोजक चासोक तङनाम सञ्चालक समितिका प्रचारप्रसार संयोजक दिनश लिङखिमका अनुसार आज भएको तेस्रो क्वाटरफाइनल खेलमा गोधुलीले भारतको सिलगुढीस्थित कञ्चनजङ्गा फुटबल क्लबलाई २–० ले पराजित गर्दै अन्तिम चारमा स्थान बनाए ।
भानुजन मावि अम्बिटारको मैदानमा भएको खेलमा गोधुलीका लागि दोर्जे तामाङले पहिलो गोल गरे । मध्यान्तर अघि तामाङको गोलबाट अग्रता बनाएको गोधुलीका लागि मध्यान्तरपछि मिलन राईले दोस्रो गोल थप्दै टिमको जित सुनिश्चित गरे ।
दोर्जे तामाङ यसअघि दोस्रो ताप्लेजुङ गोल्डकपमा सर्वाधिक गोलकर्ता बनेको आयोजकले जनाएको छ । प्रतियोगितामा सुनसरी धरानको गोधुली फुटबल क्लबले सेमीफाइनलमा प्रवेश गरेसँगै सेमिफाइनलमा गोधुलीले शम्दु फुटबल क्लब तेह्रथुमसँग प्रतिस्पर्धा गर्नेछ ।
यसअघिका क्वाटरफाइनल खेलमा शम्दु फुटबल क्लब तेह्रथुम र रेड डेभिल्स फुटबल क्लब इलामले जित हात पार्दै सेमिफाइनलमा स्थान बनाइसकेका छन्। मङ्गलबार न्यू स्टार क्लब विर्तामोड झापा र फिदिम स्पोर्टिङ क्लब पाँचथरबीच पहिलो चरणको अन्तिम खेल हुनेछ ।
प्रतियोगिताका विजेताले रू तीन लाख दुई हजार ८१ पुरस्कार पाउनेछन् भने उपविजेताले रू एक लाख ५१ हजार ८१ प्राप्त गर्ने छन् ।
प्रकाशित मिति: १७ मंसिर २०८१, सोमबार