प्रधानमन्त्री ओली चार दिने भ्रमणका लागि चीन प्रस्थान
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली चीनको औपचारिक भ्रमणका लागि बेइजिङ प्रस्थान गरेका छन् ।
चिनियाँ समकक्षी ली छ्याङको मैत्रीपूर्ण निमन्त्रणामा प्रधानमन्त्री ओली नेतृत्वको टोली आज बेइजिङ प्रस्थान गरेको हो ।
११ बजे हिमालय एयरलाइन्सको विशेष चार्टर विमानबाट प्रधानमन्त्री ओली चीन प्रस्थान गरेका हुन् ।
प्रधानमन्त्रीका साथमा उनकी धर्मपत्नी राधिका शाक्य, परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, प्रधानमन्त्रीका आर्थिक तथा विकास सल्लाहकार डा. युवराज खतिवडा र संसद्हरू छन् ।
भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले चीनका राष्ट्रपति सी जिनपिङसँग बेइजिङमा भेटवार्ता गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
यसैगरी चिनियाँ समकक्षी लीसँग भेटवार्ता गरी द्विपक्षीय आपसीहितका विविध विषयमा विचार आदानप्रदान गर्नेछन् ।
प्रधानमन्त्री ओलीसँग चीनको राष्ट्रिय जनकांग्रेसका स्थायी समितिका अध्यक्ष झाओ लेजीको समेत भेट हुने तालिका रहेको छ ।
प्रकाशित मिति: १७ मंसिर २०८१, सोमबार