सुदूरपश्चिमका पाँच स्थानको मत परिणाम, कहाँ कसले जित्यो ?


 


धनगढी, मंसिर १७ । सुदूरपश्चिम प्रदेशमा उपनिर्वाचन भएका जम्मा पाँचवटै स्थानको मत परिणाम सार्वजनिक भएको छ ।

बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकासहित पाँचवटै स्थानको मत परिणाम सार्वजनिक भएको हो ।

स्वामीकार्तिक खापर गाउँपालिकाको उपाध्यक्षमा नेकपा एमालेकी सुलोचनाकुमारी भण्डारी बुढा विजयी भएकी छन् ।
निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी पुल्तीसरा शाहीलाई पराजित गर्दै बुढा विजयी भएकी हुन् ।

बुढाले एक हजार ७४० मत प्राप्त गरेकी छन् भने कांग्रेसकी शाहीले एक हजार ४७४ मत पाइन् ।

तेस्रो भएकी नेकपा एकीकृत समाजवादीकी जवा शाहीले पाँच सय ५३ मत प्राप्त गरेकी छन् ।

कुल सात हजार ४६० मतदाता रहेको स्वामीकार्तिक खापर गाउँपालिकामा आइतबार भएको उपनिर्वाचनमा तीन हजार ९०३ मत खसेको थियो ।

२०७९ सालको निर्वाचनमा विजयी कांग्रेसकी मैनादेवी जोशीको निधन भएपछि स्वामीकार्तिकमा उपनिर्वाचन भएको हो ।

कञ्चनपुरको भीमदत्त नगरपालिका–६ को वडाध्यक्षमा नेपाली कांग्रेसका प्रकाश चन्द विजयी भएका छन् । चन्द एक हजार १०७ मत प्राप्त गर्दै विजयी भएका हुन् ।

उनका प्रतिद्वन्द्वी नेकपा एमालेका बहादुर चन्दले चार सय ८७ मत पाएका छन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका सुशील कुमार भट्टले तीन सय ६९, नेकपा एकीकृत समाजवादी पार्टीका जितेन्द्रबहादुर चन्दले दुई सय २५, राष्ट्रिय स्वतन्त्र पार्टीका रामदत्त भट्टले दुई सय १८,स्वतन्त्र उम्मेदवार थानेश्व लेखकले एक सय ४२ मत पाएका छन् ।

२०७९ सालको निर्वाचनमा पनि यो वडामा नेपाली कांग्रेस महेन्द्र खड्काको सवारी दुर्घटनामा परेर निधन भएपछि उपनिर्वाचनमा भएको हो ।

यस्तै डोटीको पूर्वीचौकी गाउँपालिका–६ को वडाध्यक्षमा कांग्रेसका मोहन थापा निर्वाचित भएका छन् । आइतबार भएको मतदानको मतपरिणाम आइतबारै अबेर आएको हो ।

थापा ४६८ मतका साथ निर्वाचित हुँदा उनका निकट्तम प्रतिस्पर्धी नेकपा एमालेका देव थापाले ३०१ मत पाएका छन् ।

नेकपा माओवादी केन्द्रका देवीलाल थापाले २६ मत पाउँदा रास्वपाकी जानकी खड्का कुँवरले ३१ मत पाएकी छिन् । १३ मत बदर भएको जनाइएको छ ।

दार्चुलाको दुहुँ गाउँपालिका–५ को वडाध्यक्षमा नेपाली कांग्रेसका धनसिंह कुँवर विजयी भएका छन् ।

कुँवर ३७६ मत प्राप्त गरी विजय हुँदा उनका प्रतिस्पर्धी नेकपा एमालेका मानसिहं बडालले ३५८ मत प्राप्त गरेका छन् ।

त्यस्तै नेकपा माओवादी केन्द्रका वीरसिंह कार्कीले ९८ मत र स्वतन्त्र उम्मेदवार लालसिंह कुवँरले २५ मत प्राप्त गरेका छन् । कुल आठ सय ७७ मत खसेकोमा २० मत बदर भएका निर्वाचन अधिकृत पुष्पराज पाण्डेले जानकारी दिए ।

बझाङको सुर्मा गाउपालिका वडा नम्बर ४ मा अध्यक्ष पदको उपनिर्वाचनमा नेपाली काँग्रेसका उम्मेदवार धिरेन्द पुजारा १७० मत बढिले बिजयी भएका छन् ।

प्रकाशित मिति: १७ मंसिर २०८१, सोमबार

प्रतिक्रिया दिनुहोस्