भेरी अस्पतालमा अब ‘हेमोफेलिया’ रोगको औषधि निःशुल्क पाइने


 


नेपालगन्ज १६ मङ्सिर। भेरी अस्पतालमा अब ‘हेमोफेलिया’ अर्थात् ‘जेनेटिक ब्लड डिसअर्डर’ का बिरामीहरूका लागि आवश्यक पर्ने औषधि निःशुल्क पाइने भएको छ ।

हेमोफेलियाका बिरामीका लागि आवश्यक पर्ने ‘फ्याक्टर–८ र फ्याक्टर–९’ औषधि भेरी अस्पतालमै निःशुल्क पाइने भएको हो । यसअघि यो सेवाका लागि बिरामीहरू काठमाडौँ जानुपर्ने बाध्यता थियो ।

भेरी अस्पतालका मेडिसिन विभाग प्रमुख डा। राजन पाण्डेले आजदेखि हेमोफेलियाका बिरामीका लागि आवश्यक पर्ने ‘फ्याक्टर–८ र फ्याक्टर–९’ औषधि भेरी अस्पतालमै निःशुल्क रुपमा पाइने व्यवस्था मिलाइएको बताउनुभयो । भेरी अस्पतालमा यो सेवा सुरु भएसँगै पश्चिम नेपालका हेमोफेलियाका बिरामीका लागि उपचारमा सहजता र सुविधा पुगेको छ ।

अस्पतालका प्रमुख कन्सल्टेन्ट फिजिसियन समेत रहनुभएका डा। पाण्डेले हेमोफेलियाका बिरामीका लागि आवश्यक पर्ने फ्याक्टर–८ र ९ भेरी अस्पतालबाटै पाइने भएपछि बिरामीलाई निकै सहज भएको बताउनुभयो ।

रगत जमाउने आवश्यक तत्त्वको कमीका कारणले लामो समयसम्म रक्तस्राव भइरहने अवस्थालाई हेमोफिलिया भनिन्छ । हेमोफेलिया रगतजन्य आनुवंशिक रोग हो । यो एक वंशाणुगत समस्याका रूपमा बढी देखिएको डा। पाण्डे बताउनुहुन्छ । राज्यले यस रोगबाट प्रभावित व्यक्तिको निदान, हेरचाह र उपचारका लागि केही बजेट छुट्टाउने गरेको छ । तर, पर्याप्त छैन ।

प्रकाशित मिति: १६ मंसिर २०८१, आइतबार

प्रतिक्रिया दिनुहोस्