खाेटाङमा १२ दल दर्ता
खोटाङ, माघ २९
स्थानीय तहको निर्वाचनको चर्चा चलेसँगै खोटाङमा १२ वटा राजनीतिक दलले नाम दर्ता गराएका छन् । नेपाली काँग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), नेकपा (माले), राष्ट्रिय प्रजातन्त्र पार्टी, नयाँ शक्ति नेपाल, सङ्घीय समाजवादी फोरम, नेकपा (माले–जनसमाजवादी), चुरेभावर लोकतान्त्रिक पार्टी, खम्बुवान राष्ट्रिय मोर्चा, नेपाल पूर्व राष्ट्रसेवक लोकतान्त्रिक पार्टी र युनाइटेड ग्रिन अर्गनाइजेसनले जिल्ला निर्वाचन कार्यालयमा पार्टी र जिल्ला कार्यसमितिको नाम दर्ता गराएका छन् ।
नेपालको संविधानको धारा २६९ बमोजिम राजनीतिक दलको विवरण अध्यावधिक गराउनुपर्ने प्रावधानअनुरुप दलको नाम दर्ता तथा विवरण अद्यावधिक गरिएको जिल्ला निर्वाचन अधिकृत दिनेश खत्रीले जानकारी दिनुभयो ।
दलको विवरण अद्यावधिकका लागि जिल्लास्थित सबै राजनीतिक दललाई एक महिना अघि पत्राचार गरेको उहाँले बताउनुभयो । दलको नाम दर्तासँगै केन्द्रीय र जिल्ला कार्यालय, कार्यसमितिको नामावली, सम्पर्क नम्बरलगायतका विवरण अद्यावधिक गरिएको कार्यालयले जनाएको छ ।
दर्ता भएका दलमध्ये नेकपा (माले–जनसमाजादी), चुरेभावर लोकतान्त्रिक पार्टी, नेपाल पूर्व राष्ट्रसेवक लोकतान्त्रिक पार्टी र युनाइटेड ग्रिन अर्गनाइजेसन पार्टी जिल्लाका लागि नयाँ पार्टी हुन् ।
प्रकाशित मिति: २९ माघ २०७३, शनिबार