भ्रष्टाचार मुद्दामा ६ जनालाई सफाइ, दुई जना दोषी


 


काठमाडौँ, मंसिर १५ । विशेष अदालतले पशु सेवा कार्यालय मुगुका प्रमुख भीमचन्द्र बुढासहित ६ जनालाई भ्रष्टाचार मुद्दामा सफाइ दिएको छ ।

पशु वधशाला निर्माण अनियमित प्रकरणमा अदालतले प्रतिवादीहरू हरिदेव पण्डित, विष्णुभक्त हितान, सुरबहादुर बुढा, राधिका मल्ल र तिलकबहादुर रावतलाई मुद्दामा सफाइ दिएको हो ।

आर्थिक वर्ष २०७५÷७६ मा भेडा पकेट कार्यक्रम अन्तर्गत भेडा खरिद नगरी कागजात मिलाएर भ्रष्टाचार गरेको आरोप लगाउँदै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीहरुविरुद्ध मुद्दा दायर गरेको थियो ।

न्यायाधीशहरू खुसीप्रसाद थारू, रामबहादुर थापा र मुरारीबाबु श्रेष्ठको इजलासले बुढासहितका प्रतिवादीलाई सफाइ दिएको हो ।

अख्तियारले बुढालाई २० लाख ७० हजार ४४९ रुपियाँ, पण्डित र हितानलाई १६ लाख ७० हजार ६२८ रुपियाँ बिगो दाबी गरेको थियो । यस्तै सुरबहादुर बुढालाई तीन लाख ९९ हजार ८२१ रुपियाँ, मल्ललाई १२ लाख २३ हजार सात सय रुपियाँ र रावतलाई चार लाख ४६ हजार ९२७ रुपियाँ बिगो कायम गरेको थियो ।

यस्तै अदालतले नक्कली शैक्षिक प्रमाणपत्र मुद्दामा स्याङ्जा गल्याङ नगरपालिकाको जगत्रदेवी स्वास्थ्य चौकीमा कार्यरत अहेब हिमा डुम्रे न्यौपानेलाई दोषी ठहर गरेको छ ।

अधिकृत छैटौँ पदमा कार्यरत न्यौपानेले माध्यमिक शिक्षा परिषद्, उत्तरप्रदेश, भारतबाट हाइस्कुल तह पास गरेको झुट्टा शैक्षिक प्रमाणपत्र पेस गरेको अदालतले ठहर गरेको हो ।

यस्तै विशेषले टीकापुर बहुमुखी क्याम्पस, कैलालीमा जुनियर असिस्टेन्ट पदमा कार्यरत देवराज वनलाई पनि नक्कली शैक्षिक प्रमाणपत्र मुद्दामा दोषी ठहर गरेको छ ।

वनले भारतको दिल्लीस्थित केन्द्रीय माध्यमिक शिक्षा बोर्डबाट जारी भएको एसएलसीको झुट्टा प्रमाणपत्र पेस गरेको अदालतले ठहर गरेको हो ।

प्रकाशित मिति: १५ मंसिर २०८१, शनिबार

प्रतिक्रिया दिनुहोस्