मुलुकको आर्थिक समृद्धि र राजनीतिक स्थायित्वका लागि वर्तमान सरकार: नेता डा कोइराला
मोरङ, १४ मङ्सिर । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले मुलुकको आर्थिक समृद्धि र राजनीतिक स्थायित्वका लागि वर्तमान सरकार बनेको बताउनुभएको छ ।
विराटनगर विमानस्थलमा आज साँझ सञ्चारकर्मीहरूसँग कुरा गर्दै उहाँले मुलुकको आर्थिक समृद्धि र राजनीतिक स्थायित्वका लागि वर्तमान गठबन्धन सरकार गठन भएकाले यसको विकल्प नहरेको बताउनुभएको हो । नेता डा कोइरालाले मुलुकलाई आर्थिक रूपमा चलायमान गराउनका साथै सुशासन कायम गर्न सरकार संवेदनशील भएर लाग्नुपर्नेमा जोड दिनुभयो ।
उहाँले प्रधानमन्त्रीको छिमेकी मित्रराष्ट्र चीनको भ्रमण सफल हुने विश्वास व्यक्त गर्दै भ्रमणबाट मुलुकलाई फाइदा पुग्ने विचारसमेत व्यक्त गर्नुभयो ।
एक अर्को प्रसङ्गमा नेता डा कोइरालाले सरकारले संविधान संशोधनका सम्बन्धमा विभिन्न दलहरूसँग छलफल गरी निष्कर्षमा पुग्नुपर्ने धारणा राख्नुभयो ।
प्रकाशित मिति: १४ मंसिर २०८१, शुक्रबार