अछाममा प्रहरीका असईले हाने आफैँलाई गोली


 


धनगढी । अछाममा नेपाल प्रहरीका प्रहरी सहायक निरीक्षक(असई) ले आफैमाथि गोली प्रहार गरेका छन् ।

तुर्माखाद गाउँपालिका–३ को भैरवस्थान प्रहरी चौकीका इन्चार्ज समेत रहेका प्रहरी सहायक निरीक्षक (असई) किसनबहादुर चन्दले बिहीबार राति आफैँमाथि गोली प्रहार गरेका हुन् ।

अछामका प्रमुख प्रहरी नायब उपरीक्षक(डीएसपी) ईश्वरीप्रसाद भण्डारीले चन्द आफैले बोकेको पेस्तोल बाँया छातीको माथिल्लो भागमा प्रहार गरेको पुष्टि गरे ।

चन्दले बिहीबार राति साढे ९ बजेतिर प्रहरी चौकीमै आफैमाथि गोली प्रहार गरेको पाइएको बताउँदै डीएसपी भण्डारीले उनको कोहलपुर मेडिकल कलेजमा उपचार भइरहेको जानकारी दिए ।

मेडिकल कलेजमा उपचाररत चन्द बोल्न सक्ने अवस्थामा रहेका छन् । घटनाबारे छानविन गर्न इलाका प्रहरी कार्यालय कमलबजारका प्रमुख प्रहरी निरीक्षक हर्षबहादुर चन्दको नेतृत्वमा पाँच सदस्यीय समिति गठन गरिएको छ ।

चन्दले गोली प्रहार गर्नुको कारण नखुलेको बताउँदै डीएसपी भण्डारीले छानविन समितिले अध्ययन गरेपछि धेरै कुरा खुल्ने बताए ।

प्रकाशित मिति: १४ मंसिर २०८१, शुक्रबार

प्रतिक्रिया दिनुहोस्