नक्कली प्रमाणपत्रको आरोपमा अहेव बोहराविरुद्ध मुद्दा दायर
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले डडेल्धुराको परशुराम नगरपालिका अन्तर्गतको स्वास्थ्य केन्द्रमा कार्यरत एक जना अहेवविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
अख्तियारले शैक्षिक योग्यताको नक्कली प्रमाणपत्रको आरोपमा अहेव रमेश बोहराविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो ।
उनीविरुद्ध शुक्रबार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरिएको आयोगले जनाएको छ ।
आयोगका प्रवक्ता नरहरि घिमिरेका अनुसार उनले परशुराम नगरपालिका वडा नम्बर ८ अन्तर्गत आधारभूत स्वास्थ्य सेवा केन्द्रमा नक्कली प्रमाणपत्र पेश गरी नियुक्ति लिएका थिए ।
साथै उनले २०७७ भदौ ११ गतेदेखि अहेवमा नियुक्त भइ सेवा सुविधा लिएको आयोगका प्रवक्ता घिमिरेले बताए ।
उनलाई आयोगले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिमको कसुरमा ऐ.ऐनको दफा १६ को उपदफा (१) बमोजिम सजाय हुन मागदाबी गरेको छ ।
प्रकाशित मिति: १४ मंसिर २०८१, शुक्रबार