अनिश्चितकालिन काम ठप्प पार्ने स्थानीय निकाय कर्मचारीको चेतावनी
काठमाडौ, माघ २९
स्थानीय तहमा कर्मचारी समायोजन गर्दा हाल कार्यरत स्थानीय निकायका कर्मचारीलाई प्राथमिकता नदिएको भन्दै स्थानीय कर्मचारी आन्दोलनमा उत्रिएका छन् । उनीहरुले माग पूरा नभए स्थानीय निकायको काम अनिश्चितकालीन बन्द गर्ने चेतावनी समेत दिएका छन् । माघ १९ गतेदेखि विभिन्न चरणमा आंशिक रूपमा स्थानीय निकायको काममा अवरोध गर्दै आएका स्थानीय निकायका कर्मचारीले आफ्नो माग सम्बोधन नभए आगामी फागुनदेखि अनिश्चितकालीन बन्द गर्ने चेतावनी दिएका हुन् ।
उनीहरुले सरकारले स्थानीय तहमा कर्मचारी समायोजन गर्दा क्षमता, ज्येष्ठता र योग्यताका आधारमा स्थानीय निकायमा कार्यरत कर्मचारीलाई उच्च प्राथमिकता दिनुपर्ने, नपुग कर्मचारी मात्र निजामती सेवाबाट स्थानीय तहमा ल्याउनुपर्ने लगायतका माग राख्दै आएका छन् । स्थानीय निकाय कर्मचारी संघ नेपालका अध्यक्ष हरिकुमार श्रेष्ठले सरकारले कर्मचारी समायोजन गर्दा एकलौटी रूपमा अघि बढ्न खोजेकाले आफूहरु बाध्य भएर आन्दोलनमा उत्रनु परेको बताए ।
हाल स्थानीय निकायमा र अब बन्ने स्थानीय तहको कामको प्रकृति समान खालको हुनेभएकाले स्थानीय तहमा कर्मचारी समायोजन गर्दा स्थानीय निकायका कर्मचारीलाई उच्च प्राथमिकता दिनुपर्नेस्थानीय निकायका कर्मचारीको माग छ ।
प्रकाशित मिति: २९ माघ २०७३, शनिबार