रवि लामिछानेको आज बयान लिइँदै


 


काठमाडौं, मंसिर १४। सहकारी ठगी प्रकरणमा प्रहरीको हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको बयान लिइने भएको छ ।

अनुसन्धानका लागि कास्की प्रहरीको हिरासतबाट बिहीबार काठमाडौं ल्याइएका लामिछानेको आज सरकारी वकिलको कार्यालयमा बयान हुने बताइएको छ । उनको केही दिन बयान चल्ने छ ।

लामिछानेलाई पक्राउ गर्न काठमाडौं जिल्ला अदालतले काठमाडौं जिल्ला परिसरलाई अनुमति दिएको थियो ।

पक्राउ पुर्जी जारी भएसँगै काठमाडौंको कालिमाटीस्थित स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा उनीहरुमाथि अनुसन्धानका लागि बाटो खुलेको थियो ।

उक्त सहकारीको रकम अपचलनबारे पूर्वडीआईजी छविलाल जोशीसँग प्रहरीले बयान लिइसकेको छ । कास्कीमा थुनामा रहेका कुमार रम्तेललाई पनि काठमाडौं ल्याएर यसअघि नै बयान लिइएको छ । रम्तेल स्वर्णलक्ष्मी सहकारीका कोषाध्यक्ष पनि हुन् ।

स्वर्णलक्ष्मी सहकारीमा राखेको करिब १ अर्ब रुपैयाँ अनियमितता गरेको भन्दै प्रहरीमा ५ सय २८ जनाले २०८१ को वैशाखमा जाहेरी दिएका थिए ।

जीबी राई अध्यक्ष रहेको उक्त सहकारीमा रास्वपा सभापति रविलामिछानेसहितले रकम अपचलन गरेको प्रहरीले भौचरसमेत फेला पारेको छ।

लामिछानेलाई बुटवलस्थित सुप्रिम सहकारी ठगी प्रकरणको अनुसन्धानका लागि यसअघि रुपन्देही लगिएको थियो ।

लामिछानेले हिरासतबाटै सोमबार राति आफूमाथि सरकारी वकिलको कार्यालयबाट पनि षड्यन्त्र भएको आरोप लगाउँदै लामो सन्देश सार्वजनिक गरेका थिए । लामिछानेलाई काठमाडौंमा बयानका लागि कम्तीमा ३ दिन राख्ने तयारी गरिएको छ ।

कात्तिक २ गते काठमाडौंस्थित पार्टी कार्यालयबाट पक्राउ परेका लामिछाने त्यसयता कास्की प्रहरीको हिरासतमा छन् । पछिल्लो पटक लामिछानेलाई कास्की जिल्ला अदालतले मंसिर ९ गते १५ दिनका लागि म्याद थप गरिएको छ ।

प्रकाशित मिति: १४ मंसिर २०८१, शुक्रबार

प्रतिक्रिया दिनुहोस्