रास्वपा सभापति लामिछानेलाई काठमाडौँ ल्याइयो, भाेली बयान सक्ने तयारी
काठमाडौँ, १३ मङ्सिर पूर्व गृहमन्त्री एवम् राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई बिहीबार साँझ काठमाडौँ ल्याइएको छ।
रास्वपाका केन्द्रीय सदस्य दीपक बोहोराका अनुसार रविलाई बुद्ध एयरमार्फत ४१ दिनपछि काठमाडौँ ल्याइएको हो।
लामिछानेविरूद्ध काठमाडौँको स्वर्णलक्ष्मी सहकारीको बचत अपचलन गरेको अभियोगमा काठमाडौँ जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरिसकेकाले बयानका लागि लगिएको उहाँले बताउनुभयो।
पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थामा सहकारीको रकम ठगी र सङ्गठित अपराध कसुरमा गत कात्तिक २ गते पक्राउ पर्नुभएका लामिछानेलाई जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा राखेर अनुसन्धान भइरहेको छ। उहाँलाई बयानका लागि यसअघि रुपन्देही लगेर पुनः पोखरा ल्याइएको थियो।
जिल्ला अदालत कास्कीको आदेशबाट पटक–पटक म्याद थप गर्दै प्रहरीले लामिछानेविरुद्ध सहकारीको रकम अपचलनसम्बन्धी कसुरमा अनुसन्धान गरिरहेको जनाएको छ।
उहाँका अनुसार लामिछानेलाई जिल्ला प्रहरी परिसर, काठमाडौँको हिरासतमा राखिनेछ । आउँदो आइतबार वा सोमबारसम्म बयान सकेर मङ्गलबार कास्की फर्काउने तयारी छ ।
जिल्ला प्रहरी परिसर, भद्रकालीमा रहेको एक हिरासत कक्षामा उनलाई राखिएको परिसरका प्रवक्ता एसपी नवराज अधिकारीले बताउनुभयो । सामान्यतया हाइप्रोफाइल थुनुवाले आवासीय सुविधायुक्त कोठा वा अस्पतालमा बस्न रुचि राख्छन् । तर, लामिछानेले त्यस्तो केही माग नगरेको प्रवक्ता अधिकारीले बताउनुभयो । रविले सादा खाना र तातोपानीको व्यवस्था गर्न माग गर्नुभएको छ।
प्रकाशित मिति: १३ मंसिर २०८१, बिहिबार