तरकारी खेती गरेर मनग्य आम्दानी


 


धनगढी, मंसिर १३ । कैलालीका किसानले व्यावसायिक तरकारी खेतीबाट राम्रो आम्दानी गर्न थालेका छन् । पछिल्लो समय यहाँका किसानले व्यावसायिक तरकारी खेतीबाट राम्रो आम्दानी गर्न थालेका हुन् ।

धनगढी उपमहानगरपालिका–६ मटियारीका रामआश्रय रानाले तरकारी खेतीबाट वर्षमा तीन लाख ५० हजारसम्म आम्दानी हुने गरेको बताए ।

राना विगत २५ वर्षदेखि व्यावसायिक तरकारी खेती गर्दै आएका छन्। उनले ११ कठ्ठा जग्गामा तरकारी खेती गर्दै आएका छन् ।

’पाँच कठ्ठा जग्गामा आलु लगाउने गरेको छु । वर्षमा एक लाख पचास हजारको आलु मात्रै बिक्री गर्छु । गत वर्ष २५ क्विन्टल आलु बेचेको थिए । यसपटक पनि राम्रै उत्पादन हुने आशा छ,’ रानाले भनिन्, ’६जनाको परिवार छ । तरकारी खेतीबाट राम्रैसँग घर खर्च चल्छ । केही बचत पनि हुन्छ ।’ उनले मौसमअनुसार तरकारी लगाउने गरेकी छन् ।

सोही ठाउँका रामदिन रानाले व्यावसायिक तरकारी खेतीबाट वार्षिक दुई लाखभन्दा बढी आम्दानी हुने गरेको बताए ।

लामो समयदेखि व्यावसायिक तरकारीखेती गर्दै आउनुभएका रानाले हाल करिब छ कठ्ठा जग्गामा तरकारी खेती गरेकी छन्।

’पाँच जनाको परिवार छ । तरकारी खेतीबाट घरखर्च राम्रैसँग चल्छ । मेहनत बढी भए पनि आम्दानी पनि राम्रै हुन्छ। पछिल्लो समय तरकारीको मूल्य राम्रै पाइरहेका छौँ,’ उनको भनाइ छ ।

सोही ठाउँकी अनोखा रानाले पनि व्यावसायिक तरकारी खेतीबाट राम्रो आम्दानी गरिरहेको सुनाए । उनले एउटा ‘सिजन’मा एक लाखभन्दा बढी आम्दानी हुने गरेको बताए ।

’मैले पाँच कठ्ठा जग्गामा तरकारी लगाएकी छु, आम्दानी राम्रै हुन्छ । आम्दानीको अरु स्रोत नभए पनि यसैबाट घरखर्च, छोराछोरीको पठनपाठन र आवश्यक परेका बेला गर्जो टार्न सकिएको छ,’ उनले भने । उत्पादन गर्न सके बजारको कुनै समस्या नरहेको किसानहरूको भनाइ छ ।

’आफूलाई पनि दैनिक उपभोग गर्न हुने, अरुलाई ताजा तरकारी दिएमा जस पनि मान्ने र त्यसैबाट आम्दानी पनि हुने । फेरि नजिकै बजार रहेकाले बेच्नलाई कुनै समस्या हुँदैन । बजार भाउ राम्रो भएका बेला त तरकारी बिक्रीबाट राम्रै आम्दानी हुन्छ । यसैमा खुसी छौँ,’ यहाँका किसानले भन्ने गरेका छन् ।

प्रकाशित मिति: १३ मंसिर २०८१, बिहिबार

प्रतिक्रिया दिनुहोस्