सट्टेबाजीमा संलग्न व्यक्ति पक्राउ, भेटियो ५५ करोड कारोबार


 


काठमाडौँ, मंसिर १३ । अवैध अनलाइन जुवा भनेर चिनिने सट्टेबाजी अर्थात ‘बेटिङ’ कारोबारमा संलग्न एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

‘बेटिङ’ कारोबारमा सङ्लग्न पाँचथर घर भई ललितपुर बस्ने सुनिल राईलाई प्रहरीले पक्राउ गरेको हो । बेटिङबाट रु ५५ करोडको कारोबार गरेको फेला परेको प्रहरीले जनाएको छ ।

उनलाई नियन्त्रणमा लिई अनुसन्धान थालिएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक काजीकुमार आचार्यले जानकारी दिए ।

अनुसन्धान गर्दा उनले ७५ वटा बैक खाता, एक सय २८ वटा ईसेवा वालेट प्रयोग गरी रु ५५ करोड २० लाख कारोबार गरेको फेला परेको पनि आचार्यले जानकारी दिए ।

यस्तै राईले २५ भन्दा बढी जिमेल खोलेको पाइएको तथा अरुको नागरिकता प्रयोग गरी नक्कली खाता खोलेको, हुलियासमेत परिवर्तन गरी अवैध कार्य गर्ने गरेको फेला परेको प्रहरीको विवरण छ ।

राईबाट एनसेल कम्पनीका ७० सिमकार्ड, ११ वटा नागरिकता, १५ थान राहदानी, २२ वटा चेकबुक र ४२ थान एटिएम कार्डसमेत बरामद गरिएका छन् । उनले बेटिङ एप्लिकेशनमार्फत विश्वभर सञ्चालन हुने विभिन्न अनलाइन गेम, जुवा (सट्टाबाजी) गर्ने÷गराउने गरी रकम सङ्कलन गर्ने, क्रिप्टो करेन्सीलगायत गैरकानुनी कार्य गरेको प्रहरीको निष्कर्ष छ ।

उनीमाथि मुलुकी अपराध संहिताको व्यवस्थाबमोजिम अनुसन्धान एवं कारबाहीका लागि आजै जिल्ला प्रहरी परिसर ललितपुर पठाइएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: १३ मंसिर २०८१, बिहिबार

प्रतिक्रिया दिनुहोस्