अबको रणनीति निर्यात बढाउनु होः मन्त्री भण्डारी
काठमाडौँ, १२ मङ्सिर । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले अबको रणनीति स्वदेशी उत्पादनको वृद्धि गरी निर्यात बढाउनु भएको बताउनुभएको छ ।
उद्योग सङ्गठन मोरङको प्रतिनिधिमण्डलसँग आज भएको अन्तक्र्रियामा उहाँले स्वदेशी उत्पादन बढाउँदै निर्यातमा जोड दिनुपर्ने बताउनुभयो ।
मन्त्री भण्डारीले भारतसँगको विषयलाई आगामी दिनमा हुने सचिवस्तरीय बैठकमार्फत सहजीकरण गरिने बताउनुभयो । उहाँले आफ्नो मन्त्रालय मातहतका निकायबाट काममा ढिलासुस्ती नहुने प्रतिबद्धता जनाउनुभयो ।
सङ्गठनका पदाधिकारीहरूले मन्त्री भण्डारीसमक्ष आफ्ना समस्याहरू सुनाउनुभएको थियो । सङ्गठनका महानिर्देशक चूडामणि भट्टराईले स्वदेशमा उत्पादित सामग्री भारत निर्यात गर्दा भारत पक्षले रोक लगाएको हुँदा यस विषयमा सहजीकरण गरिदिन आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, “अहिले नेपालबाट सिमेन्ट, रड, स्टिल, प्लाइउड, प्लास्टिक, सेनेटरी प्याड, जुत्ताचप्पलजस्ता सामग्री भारत निर्यात गर्दा भारतीय पक्षले रोक लगाउने गरेको व्यवसायीको गुनासो छ ।” भट्टराईले जोगवनी–विराटनगर कार्गो रेल सञ्चालनका लागि पहल गरिदिन तथा उद्योग विभागमा हुने ढिलासुस्ती न्यूनीकरणका लागि आग्रह गर्नुभयो ।
डेढ वर्सअघि नेपाल र भारतका प्रधानमन्त्रीहरूले संयुक्त रूपमा उद्घाटन गरेको कार्गो रेल नियमित सञ्चालन भएमा सामान ढुवानी भाडादर ३० प्रतिशत सस्तो हुने सङ्गठनका अध्यक्ष राकेश सुरानाले बताउनुभयो । सङ्गठनले हालै उत्कृष्ट काम गरेबापत दुई हजार अमेरिकी डलर बराबरको एसिया प्यासिफिक रिजन अवार्ड प्राप्त गरेको थियो ।
प्रकाशित मिति: १२ मंसिर २०८१, बुधबार