सडक विस्तारका समस्या समाधान गर्न समिति गठन


 


काठमाडौँ, माघ २८

काठमाडौँ उपत्यकाका सडक विस्तारमा ढिलाइ भएपछि तोकिएको समयमा सम्पन्न गर्ने गरी समन्वय गर्न समिति गठन गरिएको छ ।

विस्तार भइसक्नुपर्ने समयमा गुणस्तरीय काम नभएपछि भौतिक पूर्वाधार तथा यातायातमन्त्री रमेश लेखकले आज आयोजना गरेको छलफल कार्यक्रममा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव टङ्कमणि शर्माको संयोजकत्वमा सार्वजनिक खरिद अनुगमन कार्यालय, कानुन मन्त्रालयलगायत सम्बन्धित निकायका प्रतिनिधि समावेश भएको समिति गठन गरिएको हो ।

कार्यक्रममा मन्त्री लेखकले सडक विस्तारको काम तोकिएको समयमा सम्झौतामा उल्लेख गरिएअनुसार गुणस्तरको बन्नुपर्ने बताउनुभयो । “समितिले विस्तारमा कानुनी रुपमा केले रोकेको छ भन्ने विषय अध्ययन गरेर संशोधनका लागि सुझाव दिनेछ, बिहीबार त्रिपुरेश्वर–नागढुङ्गा सडक विस्तारको अनुगमन गर्दा सडकमा नेपाल टेलिकमका तार नहटाइएको, विद्युत्का पोल नसारिएको लगायतका समस्या देखियो, यसलाई पनि समितिले समन्वयात्मक रुपमा समाधान गर्नुपर्छ”, उहाँले भन्नुभयो ।

टेलिकम, विद्युत् र इन्टरनेट एवम् केबलकारका तारका विषयमा सडक विभागलाई समन्वय गर्ने जिम्मेवारीसमेत सो अवसरमा दिइएको मन्त्री लेखकका स्वकीय सचिव जनक भट्टले जानकारी दिनुभयो । उपत्यकामा हाल दर्जन बढी सडक विस्तार भए पनि समयमा काम हुन सकेको छैन । रासस

प्रकाशित मिति: २८ माघ २०७३, शुक्रबार

प्रतिक्रिया दिनुहोस्