मध्यपहाडी लोकमार्गको काम धमाधम, कालोपत्र हुँदै
बागलुङ, मंसिर १२ । राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गको बागलुङ खण्डको १३ किलोमिटर कालोपत्र प्रायः पूरा भएको छ ।
हालसम्म १० किलोमिटर ‘पिच’ भएको छ। अछेते बजारदेखि बिहुँ–बयलडाँडा खण्डमा ग्राभेलको काम जारी छ ।
’१० किलोमिटरमा सिङ्गल कोट कालोपत्र भयो बाँकी आगामी पुस मसान्तसम्ममा पूरा गर्ने लक्ष्यका साथ धमाधम काम भइरहेको छ,’ निर्माण व्यवसायी राजु गौतमले भने ।
लोकमार्गअन्तर्गत बागलुङ खण्डमा १४२ किलोमिटर पर्छ। सदरमुकाम बागलुङ बजार बाहेक अन्य स्थानमा चार वर्ष अघिनै कालोपत्र भएको हो ।
यसैगरी, बिहुँदेखि घोडाबाँधेसम्मको १२ किलोमिटर खण्डको काम नयाँ निर्माण व्यवसायीलाई दिइएको छ ।
हालसम्म उक्त खण्डमा ७७ प्रतिशत वित्तीय र ८० प्रतिशत भौतिक प्रगति भएको पर्वतस्थित मध्यपहाडी लोकमार्ग आयोजना कार्यालयका इञ्जिनियर कल्पना मिश्रले बताए ।
प्रकाशित मिति: १२ मंसिर २०८१, बुधबार