विदेश पठाइदिन्छु भन्दै साढे १७ लाख रुपैयाँ ठगी गर्ने दुई जना पक्राउ
काठमाडौँ, मंसिर १२ । वैदेशिक रोजगारमा विभिन्न देशमा पठाइदिने भन्दै रु १७ लाख ४५ हजार रकम ठगी गरेको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले मकनवानपुर बकैया गाउँपालिका–५ घर भई हाल काठमाडौँ नागार्जुन नगरपालिका–५ सितापाइला बस्ने ३९ वर्षीय सुवर्णकुमार बल तथा सर्लाही ब्रम्हपुरी गाउँपालिका–३ घर भई हाल काठमाडौँ टोखा नगरपालिका–८ बस्ने २८ वर्षीया मनिषा कुमारीलाई पक्राउ गरेको हो ।
युवायुवतीलाई आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देशमा लैजाने भन्दै झुक्यानमा राखे पश्चात विदेश नपठाई सम्पर्कविहीन भएको उजुरी आएपछि उनीहरुलाई पक्राउ गरिएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी एवं प्रहरी उपरीक्षक काजीकुमार आचार्यले जानकारी दिए ।
यसैगरी पक्राउ परेकामध्ये बलले एकजनालाई क्रोएसिया पठाउने भन्दै रु १५ लाख तथा मनिषाले एकजनालाई दुवई पठाउने भन्दै रु दुई लाख ४५ हजार रकम लिएको खुल्नमा आएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुले जनाएको छ ।
उनीहरु दुवै जनामाथि थप अनुसन्धान तथा कारवाही अगाडि बढेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: १२ मंसिर २०८१, बुधबार