‘नेपालको शान्ति प्रक्रिया विश्वका लागि प्रेरणादायी’– सभामुख घिमिरे
काठमाडौँ ११ मङ्सिर । पाँच दिने कम्बोडिया भ्रमणमा रहनुभएका सभामुख देवराज घिमिरे स्वदेश फर्कनुभएको छ ।
पाँच सदस्यीय भ्रमण टोलीको नेतृत्व गर्दै राजधानी नोम पेन्ह पुग्नुभएका सभामुख थाई एयरको जहाजबाट मंगलबार साँझ ८ बजे काठमाडौं उत्रनुभएको छ ।
सभामुखलाई त्रिभूवन विमानस्थलको अति विशिष्ट कक्षमा संघीय संसदका महासचिव पद्मप्रसाद पाण्डेलगायत उच्च अधिकारीले स्वागत गर्नुभएको थियो । सहिष्णुता र शान्तिका लागि अन्तर्राष्ट्रिय संसद (आईपीटीपी)को ११ औं पूर्ण सत्रमा सहभागी हुन जानुभएका सभामुख घिमिरेले भ्रमणका क्रममा उच्चस्तरीय भेटघाट गर्नुभएको थियो ।
सभामुख घिमिरेले कम्बोडिया भ्रमण सफल रहेको बताउँदै नेपालको शान्ति प्रक्रियाको उपलब्धी विश्वभर प्रवद्र्धन गर्न सफल भएको उल्लेख गर्नुभयो । ‘नेपाल विश्वभरका जनताहरू शान्ति, समृद्धि र मेलमिलापमा जीवन बिताउन् भन्ने चाहन्छ,’ विमानस्थलमा सभामुख घिमिरेले भन्नुभयो, ‘नेपालले पछि दशक लामो गृहयुद्धलाई शान्तिपूर्ण वार्ताबाट टुंगोमा पु¥याएको उपलब्धी विश्वका अन्य देशलाई पनि प्रेरणादायी बन्न सक्दछ । नेपालको मौलिक शान्ति प्रक्रियाको सफलता प्रवद्र्धन गर्न भ्रमण सफल भएको छ ।’
कम्बोडिया पनि नेपालजस्तै घरेलु द्वन्द्वलाई शान्तिपूर्ण तवरले अन्त्य गर्दै विकास र समृद्धिको यात्रामा अगाडि बढेको बताउँदै सभामुख घिमिरेले मेलमिलापबाटै पुनर्निर्माण र समृद्धि सम्भव हुने धारणा राख्नुभयो । उहाँले युद्धबाट बाहिर निस्कँदै सीमित कम्बोडियाली नेताहरूले सुरु गरेको समृद्धि यात्राबाट पाएको सफलता नेपालका लागि सिकाइको विषय हुने बताउनुभयो । आफूले विश्व समुदायलाई राजनीतिक संवाद, समावेशिता र मेलमिलापबाटै शान्ति स्थापना गर्न सकिने धारणा राखेको उल्लेख गर्नुभयो ।
सभामुखले कम्बोडियाको सरकारले नेपालप्रति देखाएको सकारात्मक भावनाको उच्च कदर गर्नुभयो । सरकार–सरकार र जनस्तरबाट पनि दुई देशबीच व्यापार लगायतका क्षेत्रमा सहकार्य गर्न सकिने उहाँको भनाइ थियो ।
कम्बोडियामा रहँदा सभामुखले प्रधानमन्त्री सम्देच हुन मानेट, माथिल्लो सदन सिनेटका अध्यक्षसमेत रहेका पूर्वप्रधानमन्त्री सम्देच हुन सेन, कम्बोडियाको राष्ट्रिय सभाका अध्यक्ष खुऔन सुदारीसँग भेट गर्नुभएको थियो । उहाँले आइतबार सहिष्णुता र शान्तिका लागि अन्तर्राष्ट्रिय संसद (आईपीटीपी)को ११ औं पूर्ण सत्रमा सम्बोधन गर्नुभएको थियो ।
प्रकाशित मिति: ११ मंसिर २०८१, मंगलबार