अख्तियारको स्थापना दिवसमा कस्ले के भने ?


 


काठमाडौँ, माघ २८

राष्ट्रपति विद्यादेवी भण्डारी

राष्ट्रपति विद्यादेवी भण्डारीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आफ्नो विश्वसनीयता र प्रभावकारितामा नकारात्मक असर पर्न नदिने गरी काम गर्ने विश्वास व्यक्त गर्नुभएको छ ।

आयोगको २६ औँ स्थापना दिवसका अवसरमा यहाँ आज आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले व्यवस्थापिका–संसद् र सर्वाेच्च अदालतमा आयोगबारे बहस भएको सन्दर्भलाई ध्यान दिई जनअपेक्षाअनुरुप पेसागत निष्ठा र व्यावसायिक दक्षता अपनाएर मुलुकमा सुशासन कायम गर्ने भूमिका निर्वाह गर्न पनि आग्रह गर्नुभयो ।

संसद्मा आयोगका निवर्तमान प्रमुख आयुक्त लोकमानसिंह कार्की्विरुद्ध महाभियोग प्रस्ताव दर्ता भएको थियो भने उहाँको नियुक्तिको योग्यतासम्बन्धी रिटमा सर्वाेच्चले अयोग्य सावित गरेपछि उहाँ पदमुक्त हुनुभएको थियो ।

उहाँले भन्नुभयो, “आर्थिक सामाजिक रुपान्तरणसहितको समृद्ध नेपालको सपना पूरा गर्न सुशासन कायम गर्ने काममा आयोगको चरित्र र क्षमता अब्बल भई प्रभावकारी भूमिका निर्वाह गर्नसक्ने विश्वास लिएको छु ।”

प्रधानमन्त्री पुष्पकमल दाहाल

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफू छिमेकी भारतको राजकीय भ्रमणमा रहेका बेला आयोगका कारण भोग्नुपरेको तीतो अनुभव आगामी दिनमा भोग्नु नपरोस् भन्दै आयोग स्थापनाको दुईदशक बितिसक्दा पनि मुलुकमा भ्रष्टाचार किन नियन्त्रण भएन भनेर समीक्षा गर्न आग्रह गर्नुभयो ।

प्रधानमन्त्री दाहाल भारत भ्रमणमा रहेका बेला आयोगले तत्कालीन माओवादी शिविरका लडाकुलाई वितरण गरिएको रकममाथिको अनियमितता छानबिनको घोषणा गरेको थियो ।

उहाँले नयाँ संविधानअनुसार आयोगको कानुन बनाउन र आयोगलाई आवश्यक सहयोग गर्न सरकार तत्पर रहेको अवगत गराउँदै सम्बन्धित निकायबीचको समन्वय र व्यक्तिको प्रतिष्ठामा आँच नपुग्ने गरी अनुसन्धान गर्न तथा दोषी नउम्कने गरी काम गर्न आयोगलाई सुझाव पनि दिनुभयो ।

कार्यवाहक प्रमुख आयुक्त दीप बस्न्यात

आयोगका कार्यवाहक प्रमुख आयुक्त दीप बस्न्यातले प्रचलित कानुनको प्रयोग गरी आयोगले सुशासन कायमका लागि निगरानी र पहरेदारीको कार्यलाई निरन्तरता दिने बताउनुभयो ।

समारोहमा आयोगको स्मारिका, २०७३ लोकार्पण हुनाका साथै उत्कृष्ट कर्मचारी र निबन्ध तथा कविता प्रतियोगिताका विजयीलाई पुरस्कृत गरिएको थियो । आयोग २०४७ माघ २७ मा स्थापना भएको थियो ।

प्रकाशित मिति: २८ माघ २०७३, शुक्रबार

प्रतिक्रिया दिनुहोस्