प्रधानमन्त्री ओलीसँग विप्लव र प्रकाण्डले गरे भेटवार्ता
काठमाडौं । नेकपा कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ र प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन् ।
उनीहरूले प्रधानमन्त्री निवास बालुवाटार पुगेर प्रधानमन्त्री ओलीसँग भेटवार्ता गरेका हुन् । भेटमा प्रधानमन्त्री ओलीको आसन्न चीन भ्रमणका विषयमा कुरा गरिएको नेकपाले जनाएको छ।
प्रधानमन्त्री ओलीलाई चीन भ्रमणका क्रममा चीनसँग राष्ट्र र जनहितका कुरा गर्दा आउने अवरोध र विरोधसँग नडराउन आग्रह गरिएको नेकपा नेताहरूले बताएका छन् ।
उनीहरूले प्रधानमन्त्रीको चीन भ्रमणको शुभकामना पनि दिएका छन् । भेटमा नेताहरूले देशको स्थिति जटिल बन्दै गएको र अराजकता मौलाउन खोजेको भन्दै त्यसको समाधान नयाँ ढङ्गले खोज्नु पर्ने बताएका थिए।
भेटमा यसअघि नेकपासँग गरिएको तीन बुँदे सहमति कार्यान्वयन लगायत समसामयिक राजनीतिक विषयमा छलफल भएको नेताहरूले बताएका छन् ।
तीन बुँदे सहमति कार्यान्वयनमा ढिलाई नगर्न र तीन बुँदे सहमतिपछि पनि गिरफ्तार गरिएका नेकपाका कार्यकर्तालाई तत्काल रिहा गर्न आग्रह गरिएको नेताहरूले बताएका छन् ।
प्रकाशित मिति: ११ मंसिर २०८१, मंगलबार