रविलाई काठमाडौं पर्याउन ढिलाइ, यस्तो छ कारण
काठमाडौं, मंसिर ११ । सहकारीको रकम अपचलन, संगठित अपराध र सम्पत्ति शुद्धिकरण मुद्दामा कास्की प्रहरीको हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई आज (मंगलबार) काठमाडौं पुर्याउन ढिलाइ भएको छ ।
आज (मंगलबार) बिहान साढे ९ बजेसम्म पनि काठमाडौंबाट हवाई टिकट प्राप्त नभएकाले ढिलाइ भएको जिल्ला प्रहरी कार्यालय, कास्कीले जनाएको छ ।
कास्की प्रहरीका सूचना अधिकारी डीएसपी वसन्तकुमार शर्माले काठमाडौं प्रहरीबाट कुनै कागजात र हवाई टिकट नहुँदा ढिलाइ भएको बताए । उनका अनुसार लामिछानेलाई आज बिहान ८ः४० बजेको बुद्ध एयरको हवाईजहाजबाट काठमाडौं पठाउने भनिएको थियो ।
उनलाई आज जिल्ला सरकारी वकिलको कार्यालयमा बयानका लागि काठमाडौं ल्याउन लागिएको थियो ।
कालीमाटीमा रहेको स्वर्णलक्ष्मी सहकारीको रकम हिनामिनामा अनुसन्धानका लागि लामिछानेलाई काठमाडौं ल्याउन लागिएको हो । उनीविरुद्ध काठमाडौं जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भइसकेको छ ।
सहकारी ठगी प्रकरणमा पक्राउ परेका छविलाल जोशी र कुमार रम्तेललाई यसअघि नै काठमाडौंमा ल्याएर बयान लिइ पुनः पोखरा फर्काइसकिएको छ ।
प्रकाशित मिति: ११ मंसिर २०८१, मंगलबार