रवि लामिछानेलाई आज काठमाडौं ल्याइँदै
काठमाडौं, मंसिर ११ । सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दामा कास्की प्रहरीको हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई आज काठमाडौं ल्याइँदैछ ।
काठमाडौंको स्वर्णलक्ष्मी सहकारी ठगीबारे थप बयानका लागि लामिछानेलाई पोखराबाट आज काठमाडौं ल्याउन लागिएको हो ।
स्वर्णलक्ष्मी सहकारीको बचत अपचलनको आरोपमा अनुसन्धानका लागि काठमाडौं जिल्ला अदालतले मंसिर २ गते लामिछानेविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो ।
स्वर्णलक्ष्मी सहकारी बचत अपचलनको आरोपमा गोर्खा मिडियाका पूर्वसञ्चालक एवं पूर्वडीआईजी छविलाल जोशीविरुद्ध पनि काठमाडौं जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको थियो । जोशीको जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंमा बयान लिइएको छ ।
कास्कीमा लामिछानेमाथि सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा अनुसन्धान भइरहेको छ । काठमाडौंमा बयान सकिएपछि लामिछानेलाई फेरि कास्की नै लगिने छ ।
लामिछाने लगायतविरुद्ध चितवनमा पनि पक्राउ पुर्जी जारी भएको छ । त्यसपछि उनलाई बयानका लागि चितवन लैजाने बताइएको छ ।
प्रकाशित मिति: ११ मंसिर २०८१, मंगलबार