उखु उत्पादन र प्रवर्द्धनमा प्रदेश सरकारले सहयोग गर्छः मुख्यमन्त्री कार्की


 



मोरङ, १० मङ्सिर। कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशमा उखु उत्पादन वृद्धि गर्न तथा प्रवर्द्धनका लागि प्रदेश सरकारले आवश्यक सहयोग गर्ने बताउनुभएको छ ।

‘नेपाल फार्मस एड्भाइजरी काउन्सिल प्रालि’ सिनामङ्गल काठमाडौँद्वारा  आज  विराटनगरमा आयोजित उखुखेती प्रवद्र्धनका लागि किसानको सीपमूलक तथा आय अभिवृद्धि अभिमुखीकरण कार्यक्रमको उद्घाटन गर्दै मुख्यमन्त्री कार्कीले उखु उत्पादनमा वृद्धि, बजारीकरण र मूल्यका लागि आगामी तीन महिनाभित्र कृषक, उखु मिल र सरकारबीच त्रिपक्षीय छलफलसहित निष्कर्ष निकाली सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

मुख्यमन्त्री कार्कीले प्रदेशमा कृषि उत्पादनमा वृद्धिका लागि  कृषकले सिँचाइमा प्रयोग गर्ने विद्युत् र मलखादमा आवश्यक अनुदान दिने जानकारी दिनुभयो । उहाँले मुलुकमा रहेका उद्योगलाई आवश्यक पर्ने कृषि कच्चापदार्थ उत्पादन गर्न किसानलाई आग्रह गर्दै यसबाट आयात प्रतिस्थापन भई विदेशी मुद्रा बचत हुने उल्लेख गर्नुभयो ।

तराईमा छिटो उत्पादन भई प्रतिफल दिने उखु, धान, सनपाट र मकैको उत्पादन प्रवद्र्धनका लागि आगामी आर्थिक वर्ष २०८२/८३ को वार्षिक नीति तथा कार्यक्रम ल्याउनुका साथै बजेटको व्यवस्था गर्ने मुख्यमन्त्री कार्कीले जानकारी दिनुभयो । 

विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले कृषकले आफ्नो उत्पादनको मूल्य आफै निर्धारण गर्न पाएमा मात्र उत्पादन वृद्धि हुने बताउनुभयो । 

प्रदेशका उद्योग, कृषि तथा सहकारी मन्त्रालयका सचिव डा शरणकुमार पाण्डेले प्रदेशमा छ हजार हेक्टरमा उखुखेती हुनाका साथै वार्षिक तीन लाख ५० हजार मेट्रिक टन उखु उत्पादन हुने जानकारी दिनुभयो ।

मोरङका प्रम्ख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले कृषकलाई सिँचाइ, प्राविधिक ज्ञान, कृषि उत्पादनको उचित मूल्य निर्धारणमा गर्नुपर्ने सुझाव दिनुभयो ।     प्रदेश योजना आयोगका सदस्य सीताराम बस्नेतले उखु नगदे बाली भए पनि किसानले समयमा भुक्तानी नपाएर समस्या हुने गरेको बताउनुभयो ।

‘दी नेपाल डिस्ट्रिलरिज प्रालि’ काठमाडौँका प्रमुख अधिकृत जनकराज रेग्मी र पूर्वसचिव डा योगेन्द्रकुमार कार्कीले स्वदेशी पुँजी विदेश जान नियन्त्रण गर्न, वैज्ञानिक खेती, उखु उत्पादनलाई आधुनिकीकरण गर्न, प्रविधिको प्रयोग, ज्ञान, मल, सिँचाइलगायत विषयमा किसानलई अभिमुखीकरण गर्नु कार्यक्रमको उद्देश्य रहेको बताउनुभयो ।

एकदिने अभिमुखीकरण कार्यक्रममा नेपाल कृषि अनुसन्धान परिषद्का वैज्ञानिक जगत्बन्धु अर्यालयले खुट्टी बालीको महत्व तथा उन्नत व्यवस्थापन र मलखाद, डा दिलराज यादवले उखुका उत्कृष्ट जातहरु तथा उन्नत उत्पादन प्रविधि, उखु बालीको प्रमुख रोग र कीराहरु तथा तिनको व्यवस्थापन र पूर्वसचिव डा कार्कीले नेपालमा उखु खेतीको महत्व र सम्भावना विषयमा किसानलाई अभिमुखीकरण गर्ने कार्यक्रम रहेको छ । कार्यक्रममा मोरङ, झापा र सुनसरीका गरी ४० किसानको सहभागिता रहेको छ । 

प्रकाशित मिति: १० मंसिर २०८१, सोमबार

प्रतिक्रिया दिनुहोस्