नेपालको शान्ति प्रयास विश्वका लागि उदाहरणीय छः सभामुख
काठमाडौँ, ९ मङ्सिर । सभामुख देवराज घिमिरेले नेपालले शान्ति स्थापना र मेलमिलापको क्षेत्रमा हासिल गरेका उपलब्धि विश्वका लागि अनुकरणीय रहेको बताउनुभएको छ ।
कम्बोडियाको राजधानी नोमपेन्हमा आयोजित सहिष्णुता र शान्तिका लागि अन्तर्राष्ट्रिय संसद् (आइपिटिपी) को ११औँ पूर्ण सत्रलाई आज सम्बोधन गर्दै सभामुख घिमिरेले भगवान बुद्धको भूमि नेपालका तर्फबाट शान्ति, सहिष्णुताको सन्देश द्वन्द्व व्यवस्थापन र स्थायित्वका लागि अन्तर्राष्ट्रिय समुदायलाई महत्वपूर्ण पाठ दिनसक्ने धारणा व्यक्त गर्नुभयो ।
सभामुख घिमिरेले सन् २००६ मा सम्पन्न विस्तृत शान्ति सम्झौतालाई द्वन्द्वबाट शान्तितर्फको यात्राको ऐतिहासिक मोडका रूपमा प्रस्तुत गर्नुभयो ।
“शान्ति सम्झौताले नेपालको संविधानसभामार्फत सङ्घीयता, समावेशी संरचना र प्रगतिशील शासन प्रणालीको मार्ग प्रशस्त गरेको छ,” उहाँले भन्नुभयो । जलवायु परिवर्तन र साइबर खतराहरूलाई वर्तमान विश्वका प्रमुख चुनौतीका रूपमा चित्रित गर्दै सभामुख घिमिरेले साइबर सुरक्षाका लागि बहुपक्षीय दृष्टिकोण र अन्तर्राष्ट्रिय सहकार्यको खाँचो औँल्याउनुभयो ।
सभामुख घिमिरेले शान्ति भनेको केवल युद्धको अनुपस्थिति नभई न्याय, समानता र अवसरको उपस्थिति हो भन्नेमा जोड दिनुभयो । समाजका सबै तहलाई समेटेर शान्ति निर्माणका संरचना विकास गर्न नेपालले देखाएको उदाहरणलाई उहाँले विश्वसामु प्रस्तुत गर्नुभयो ।
सहिष्णुता, शान्ति र मेलमिलाप प्रवद्र्धनका लागि नेपाल सरकार, संसद् र नागरिक समाजको प्रतिबद्धता पुनः दोहो¥याउँदै सबै राष्ट्रलाई सहकार्य र समझदारीबाट अघि बढ्न सभामुख घिमिरले आह्वान गर्नुभयो । “शान्ति उपहार होइनस यो एउटा लक्ष्य हो,” उहाँले भन्नुभयो, “शान्तिको प्रवद्र्धनका लागि सामूहिक र सृजनशील प्रयास आवश्यक छ ।”
प्रकाशित मिति: ९ मंसिर २०८१, आइतबार