जहाँ लालबाबु, त्यहाँ घुसकाण्ड


 


काठमाडौं । विवादास्पद सहसचिव लालबाबु कवारी फेरि घुसकाण्डको विवादमा तानिएका छन् ।

उनी प्रमुख जिल्ला अधिकारी (सिडिओ) रहेको कार्यालयका नायब सुब्बालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरी अनुसन्धान गरिरहेको छ ।

जिल्ला प्रशासना कार्यालय, महोत्तरीका नासु अशोक कुमार यादबलाई आयोगले २० हजार घुससहित शुक्रबार पक्राउ गरेको हो ।

सवारी दुर्घटनामा मृत्यु भएका परिवारका सदस्यसँग काजकिरियाको रकम उपलब्ध गराइदिने भन्दै उनले यसरी घुस लिएका हुन् ।

दुर्घटनामा मृत्यु भएका व्यक्तिका परिवारले पाउनुपर्ने रकम समेत रोकेर उनले बार्गेनिङ गरेका थिए । यो घटनाले जिल्ला प्रशासन कार्यालय, महोत्तरी कसरी चलिरहेको छ भन्ने प्रष्ट हुन्छ ।

महोत्तरीमा कवारी गत महिना मात्र सिडिओका रुपमा गएका हुन् ।

विगतमा पनि उनी अनेक घुसकाण्डमा परेका कर्मचारी हुन् । कम्पनी रजिष्ट्रारको कार्यालयमा रहँदा उनलाई अख्तियारले घुससहित पक्राउ गरेको थियो । अदालतबाट सफाई पाएपछि पनि आकर्षक कार्यालयमा बस्दै आएका छन् ।

सिराहाको सिडिओ हुँदा आपराधिक समूहसँग मिलेर जग्गाको विषयमा पैसा मागेको आरोपमा उनी कारबाहीमा परेका थिए । सोही कारण गोरखामा सरुवा भएपछि पनि उनको सरुवा रद्द गरिएको थियो ।

शक्तिकेन्द्रलाई प्रभावमा पारी उनी गत महिना गृहजिल्ला महोत्तरीमै सिडिओ बनेका हुन् । उनी महोत्तरी गएपछि जिल्ला प्रशासनमा घुसखोरी बढ्नुका साथै सीमा नाकाबाट तस्करी लाइन समेत खुलेको स्रोत बताउँछ ।

प्रकाशित मिति: ९ मंसिर २०८१, आइतबार

प्रतिक्रिया दिनुहोस्