मुख्यसचिव अर्यालको राजीनामा स्वीकृत
काठमाडौं ७ मङ्सिर। सरकारले मुख्यसचिव डा.बैकुण्ठ अर्यालको राजीनामा स्वीकृत गरेको छ ।
भ्रष्टाचार प्रकरणमा मुछिएपछि मुख्यसचिवबाट राष्ट्रिय योजना आयोगमा विशेष अधिकृतको दरबन्दीमा कार्यरत अर्यालले ५ दिन अघि बुझाएको राजिनामा बिहीबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले स्वीकृत गरेको हो ।
अर्यालले गत आइतबार राष्ट्रिय योजनामा आयोगमा हाजिर गरे लगत्तै मुख्यसचिव एकनारायण अर्यालको सचिवालयमा राजीनामा बुझाएका थिए ।
भ्रष्टाचार मुद्दामा विशेष अदालतबाट सफाइ पाएपछि सरकारी सेवामा पुनः फर्केका अर्याललाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले गत कात्तिक २० मा रमाना पठाएको थियो । गत कात्तिक १४ मा सफाइ पाएका उनले २० कात्तिकको निर्णयअनुसार आयोगमा हाजिर गरेका थिए ।
उनी निलम्बनमा रहेकै बेला नयाँ मुख्यसचिव नियुक्ति भइसकेको अवस्थामा सोही स्तरको पदमा आयोगमा कुनै खास र स्पष्ट जिम्मेवारीविना बस्न उपयुक्त नहुने भन्दै अर्यालले राजीनामा दिएका थिए ।
प्रकाशित मिति: ७ मंसिर २०८१, शुक्रबार