एमालेको प्रदर्शनका कारण उपत्यकाको ट्राफिक व्यवस्थापन अस्तव्यस्त
काठमाडौं । नेकपा एमालेले गर्ने सडक प्रदर्शनका कारण काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्था प्रभावित बनेको छ।
एमालेले काठमाडौंमा गर्न लागेको जागरण सभाका कारण उपत्यकाको ट्राफिक व्यवस्था प्रभावित भएको हो ।
काठमाडौं उपत्यकामा आज सवारी साधनको जामका कारण काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले वैकल्पिक सवारी रुट सार्वजनिक गरेको छ ।
एमालेले जागरण सभा नामबाट दरबारमार्गमा शक्ति प्रदर्शन गर्दैछ । दरबारमार्गमा हुने सभाका लागि मञ्च निर्माणको काम भइरहेको छ ।
त्यसैले ट्राफिक प्रहरीले सो क्षेत्रमा सवारी आउ–जाउ गर्न रोक लगाएको छ ।
दरबारमार्गतर्फ आउने सवारी साधनलाई केशरमहल, महेन्द्र शालिक र जयनेपाल चोकबाट ड्राइभर्सन गरिएको उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।
काठमाडौंका विभिन्न सम्पर्कविन्दुबाट ११ बजे बिहान सुरु हुने जुलुस दरबारमार्ग पुगेर सभामा परिणत हुनेछ ।
प्रकाशित मिति: ७ मंसिर २०८१, शुक्रबार